अस्पतालमा मृतकको हातबाट सुनको ब्रास्लेट चोरी, गार्ड पक्राउ




भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर अस्पतालको पुनर्जीवन कक्षबाट मृतकको हातमा रहेको सुनको ब्रास्लेट चोरी गर्ने सुरक्षा गार्डलाई बिहीबार पक्राउ गरेको छ ।

भरतपुर–२९, केराबारीमा पुस १७ गते ना ५६ ख ३३१२ नम्बरको ट्रकले बागमती प्रदेश ०३–००३ प ६५७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।



दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक तनहुँको भानु नगरपालिका वडा नं–२ घर भई भरतपुर–१ बस्ने ३७ वर्षीय सञ्जीवबहादुर रायमाझीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।

रायमाझीको मृत्यु भएपछि शव अस्पतालकै आकस्मिक कक्षनजिक पुनर्जीवन कक्षमा राखिएकोमा मृतकले हातमा लगाएको ब्रास्लेट चोरी भएको थियो ।

चोरी भएको ब्रास्लेटको अनुसन्धानका क्रममा भरतपुर अस्पतालका गार्ड खोटाङ ऐँसेलुखर्क गाउँपालिका वडा नं–६ घर भई हाल चितवनको भरतपुर महानगरपालिका वडा नं–७ बस्ने २७ वर्षीय कृष्ण राईलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार निज राईलाई नियन्त्रणमा लिई चोरी कसुरमा चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।



सम्बन्धित
Loading...