गण्डकी प्रदेशमा सबैभन्दा बढी कुष्ठरोगी नवलपुरमा




रामकुमार श्रेष्ठ —

नवलपरासी । गण्डकी प्रदेशका ११ जिल्ला मध्ये सबैभन्दा बढी कुष्ठरोगी नवलपुरमा भएको पाइएको छ ।
स्वास्थ्य कार्यालय नवलपुर र कोपिला नेपालले आइतबार विहान कावासोतीमा गरेको पत्रकार र सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रममा दिइएको जानकारी अनुसार गण्डकी प्रदेशमा अहिले ९३ जना कुष्ठरोगी उपचाररत रहेकोमा सबैभन्दा बढी नवलपुरमा २८ जना उपचाररहेका छन् ।




त्यसैगरी १० हजारमा १ जना कुष्ठरोगी भन्दा कम हुनु पर्नेमा नवलपुरमा त्यो प्रतिशत भने गण्डकी प्रदेशका सबै जिल्लाको तुलनामा बढी रहेको छ ।
त्यसैगरी नवलपुर पछि कास्कीमा २३ जना कुष्ठरोगीहरु उपचाररत रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यायल नवलपुरका प्रमुख केशवराज चापागाईका अनुसार नवलपुरमा गण्डकी प्रदेशमा प्रति १० हजार मानिसमा शुन्य दशमलब ४७ प्रतिशत रहेको छ भने नवलपुरमा मात्रै शून्य दशमलब ९४ रहेको छ ।
त्यसैगरी लम्जुङ्गगमा ०.९१, मुस्ताङमा ०.६८, पर्वतमा ०.६०, म्याग्दीमा ०.४० रहेको छ ।

पूर्वी नवलपरासीमा २८ जना कुष्ठ रोगीका विरामी पाइएको छ ।

स्वास्थ्य कार्यालय नवलपुरका अनुसार नवलपुरमा अहिले कडा खालका कुष्ठ रोग भएका २७ जना र समान्य कुष्ठ रोग भएका १ जना गरी २८ जना कुष्ठ रोगीहरु रहेको जनाइएको छ ।

स्वास्थ्य कार्यालय नवलपुरका ल्याब टेक्निसियन डिल्लीराम तिवारीका अनुसार कडा कुष्ठ रोग भएका विरामीले १ बर्ष र सामान्य कुष्ठ रोग भएकाले ६ महिना नियमित औषधि खाएपछि यो रोग निको हुने गर्दछ ।

उनका अनुसार नयाँ फेला परेका रोगीमा अंगभंग हुने समस्या नदेखिएपनि पुराना रोगीहरुमा अंगभंग भएका रोगीहरु पनि नवलपुरमा भेटिएका छन् ।

नवलपुर जिल्ला समग्रमा कुष्ठ रोगीको संख्याको हिसाबले कम जोखिममा रहेको जिल्ला रहे पनि पालिकाको तथ्यांकलाई आधार मानेर हेर्दा देवचुली र गैडाकोट नगरपालिका भने जोखिममा रहेको पालिकाको रुपमा रहेको तिवारीले बताए ।

नवलपुरमा ४० जना नयाँ कुष्ठ रोगी फेला परेकोमा १२ जना निको भएको र अहिले २८ जना रोगी उपचाररत अर्थात औषधि सेवन गरिरहेका छन् ।

कुष्ठरोगीका विरामीलाई सरकारले निशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । नेपाललाई एक समय कुष्ठरोग मुक्त भनेर घोषणा गरिएपनि त्यो पछि कार्यान्वयनमा आउन सकेको थिएन जसले गर्दा अहिले सरकारले कुष्ठरोग निवारणका लागि विभिन्न कार्यक्रमहरु ल्याइरहेको छ ।

नवलपुरमा अहिले गैडाकोटमा १२ जना, देवचुलीमा ६ जना, कावासोतीमा ४ जना, विनयी त्रिवेणीमा ३ जना, हुप्सेकोटमा १ जना र मध्यविन्दुमा १ जना कुष्ठरोगी उपचाररत रहेका छन् ।

कार्यक्रममा कतिपय कुष्ठरोगीहरु ऋझै पनि समाजबाट आफू अपहेलित भइन्छ कि भनेर खुलेर नआउने गरेका कारण कतिपय कुष्ठरोगीको पहिचान हुन नसकेको बताइएको थियो ।



सम्बन्धित
Loading...