देवचुलीले थाल्यो सुकुम्बासीका लागि जग्गा नाँपजाँचको कार्य

भुमिहीन दलित, भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको जग्गा नाप जाँचको लागि नियन्त्रण बिन्दु स्थापना गरिएको छ ।
सोमबार देवचुली नगरपालिका नगर कार्यपालिकाको आयोजनामा देवचुली वडा नं ४ मा नियन्त्रण बिन्दुको स्थापना गरि नाँपजाँचको कार्यको शुरुवात गरिएको हो । देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेले कार्यको शुरुवात गरिएको हो ।
देवचुली नगरपालिकाको सबैभन्दा मुख्य समस्याको रुपमा रहेको भुमिहीन सुकुम्बासी समाधानका लागि वडा नं ४ बाटै कार्यको थालनी गरिएको वडा नं ४ का वडाध्यक्ष गिर बहादुर थापा क्षेत्री (राम) ले जानकारी दिए । सुकुम्बासीको जग्गाधनी प्राप्तीका लागि पहिले नै विभिन्न चरणमा फर्महरु भरिसकेको भएपनि आयोग परिवर्तनले काम अगाडि नबढेको उनले बताए ।
थापाका अनुसार वडा नं ४ मा नगरकै सबैभन्दा धेरै ८ सय ५८ घरपरिवार सुकुम्बासी रहेकाले वडा ४ बाट जग्गा नाँपजाँचको काम थालनी गरिएको हो ।
देवचुलीमा भएका भुमिहीन दलित, भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगतको प्रक्रिया सकिएको देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनीले जानकारी दिए । उनले देवचुलीका १७ वटै वडामा नियन्त्रण बिन्दु कायम गरेर जग्गा नाँप जाँच गरेर डाटा लिएर भुमि आयोगमा पठाउन सके काम छिटो हुने बताए।
देवचुली नगरपालिकाले ७ जना कर्मचारी राखेर विगतका दिन देखि नै काम गरेको र अब करिब अन्तिम चरणमा आइसकेको देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवरीले जानकारी दिए ।