कावासोतीको टरुवा ताल संरक्षणमा ध्यान पुगेन

रामकुमार श्रेष्ठ –
कुनै बेला कावासोती शहरको रुपमा विकास हुँदै थियो त्यति बेला सिंगो कावासोतीको पिउने पानीको स्रोत रहेको थियो टरुवा ताल, यो ताल संरक्षका लागि अहिले पटक पटक पहल थालिए पनि संरक्षणमा पूर्ण रुपमा ध्यान भने पुग्न सकेको छैन ।
कावासोती नगरपालिका ८ र ७ को बीचमा पर्ने टरुवा ताललाई अहिले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने अनेकौं प्रयासहरु भएपनि पूर्ण हुन नसक्दा अतिक्रमणको चपेटामा समेत परेको छ ।
अहिले विश्वव्यापी रुपमा जलवायु परिवर्तन भईरहेको छ । यसको प्रभाव नेपालमा पनि परेको छ । जलवायु परिवर्तनबाट पृथ्वीलाई बचाई राख्न जंगलको जति महत्व छ त्यति नै महत्व सिमसार क्षेत्र तालको पनि छ ।
एकातिर जलवायु परिवर्तनलाई काम गर्न योगदान पुग्ने र अर्कोतर्फ पर्यटकीय क्षेत्रको रुपमा पनि विकास गर्न सकिने भएकोले टरुवा ताल संरक्षण गरी यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रक्रिया अगाडि बढेको १५ बर्ष भन्दा बढी भईसकेको छ तर पनि यसले अझै पूर्णता पाउन भने सकेको छैन ।
करिब २ सय १३ रोपनी क्षेत्रफलमा फैलिएको टरुवा ताल संरक्षणका लागि यहाँ राज्य स्तरबाट मात्रै अहिलेसम्म ३० लाख बढी खर्च भईसकेको छ । टरुवा तालको २ सय १३ रोपनी क्षेत्रफल मध्ये ७० रोपनी क्षेत्रफलमा ताल रहेको छ भने अन्य भुभाग जंगल, बाटो आदि रहेको छ।
ताल संरक्षणका लागि स्थानीय बासिन्दा, स्थानीय क्लब, स्थानीय संघसंस्थादेखि स्थानीय सरकारले पहल थालेको भए पनि अझै पूर्णता पाउन नसकेको स्थानीय बासिन्दा इन्द्रप्रसाद भुसाल बताउँछन् । एकअर्काबीच ताल संरक्षणको जस कसले लिने भन्ने विवादका कारण संरक्षणले मुर्तरुप पाउन नसकेको हो।
टरुवा ताललाई पौडी खेल्ने क्षेत्र, माछा पालन, डुंगा सफारी लगायतका क्षेत्रको रुपमा विकास गर्ने गरी गुरुयोजना बनेको छ । सुरुको अवस्थामा तालको चारैतिर स्थानीयले अतिक्रमण गरेर खेती गरेको भए पनि अहिले अतिक्रमित क्षेत्र हटाइएको छ। टरुवा ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिए यहाँको होटल व्यवसाय पनि थप फस्टाउने होटल व्यवसायी संघ नवलपुरका उपाध्यक्ष यमप्रसाद न्यौपाने बताउँछन्। यहाँ गत बर्ष मात्रै संघीय सरकारको पर्यटन मन्त्रालय र स्थानीय सरकारको ७०/३० को अवधारण अन्तरगत गत बर्ष १ करोड बजेट विनियोजन गरिएको थियो। त्यो मध्य संघीय सरकारको बजेटको काम अझै हुन सकेको छैन।
तथापि नगरपालिकाले तालको संरक्षण एवम् पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि ७०÷३० को अवधारणामा बर्षेनी बजेट विनियोजन गरेर काम गरिरहेको कावासोती नगरपालिकाका नगरप्रमुख विष्णु प्रसाद भुसालले बताए ।
जमिन मुनीको पानीको सहत घट्दै गईरहेको भन्दै त्यसको संरक्षणका लागि कतिपय स्थानमा कृतिम ताल बनाइरहँदा यहाँ प्राकृतिक रुपमा बनेको ताल संरक्षण हुन सकेको छैन। कावासोतीको मुटुमा रहेको यस तालको संरक्षण गर्न सके नवलपुरको कावासोतीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यसले थप मद्दत पुग्ने छ। त्यसो त नवलपुरको दक्षिण क्षेत्र नारायणी नदी, निकुञ्ज, होम स्टे, जंगल सफारी आदिका कारणले पनि पर्यटकीय क्षेत्रका रुपमा विकासित भएको छ।
