जेष्ठ नागरिकमाथि प्रजिअको अभद्र व्यवहार


सोमवार विहान १०.४६ वजे पश्चिम नवलपरासी जिल्ला प्रशासन कार्यालयमा कर्मचारी नपुगेको अवश्थाको तस्वीर । तस्वीर: डा. घनश्याम परिश्रमी


गोपी ज्ञवाली –

परासी। पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गरेको समाचार सामाजिक संजालमा भाईरल बनेको छ ।




विश्व भाषा क्याम्पस काठमाण्डौबाट पूर्वीय भाषा विभाग प्रमुखको पदबाट सेवानिबृत्त भएका डा. घनश्याम परिश्रमी राष्ट्रिय परिचयपत्र बनाउन सोमवार विहान १० वजे पश्चिम नवलपरासीको जिल्ला प्रशासनमा पुग्दा ११ बजेसम्म सम्बन्धित कक्षमा कर्मचारी नभएको पाईएपछि प्रशासन कार्यालयको खाली कुर्चीको फोटो सामाजिक संजालमा पोष्ट गरे पछि प्रमुख जिल्ला अधिकारी विश्व प्रकास अर्यालले डा. परिश्रमीलाई आफ्नो कार्यकक्षमा बोलाएर अभद्र व्यहार गरेको डा. परिश्रमीले बताए ।

गजलमा नेपालमा पहिलो विद्यापारिधि उपाधि हासिल गरेका साहित्यकार एवम् गजलका डा.परिश्रमीले जिल्ला प्रशासन कार्यालयमा दिउसोको ११ वजे सम्म पनि कर्मचारी नआएको भेटे पछि प्रशासन कार्यालयमा कर्मचारी समयमा कार्यालय नपुगेको प्रति प्रमुख जिल्ला अधिकारीको ध्यानआकर्षण गराएको भन्दै सामाजिक संजालमा फोटोहरु पोष्ट गरेपछि प्रमुख जिल्ला अधिकारीले आफुलाई प्रहरी लगाएर आफनो कार्यकक्षमा लगेको, प्रमुख जिल्ला अधिकारीको अगाडि नै अर्का एक कर्मचारीले पूर्व प्रध्यापक हुँ भन्दै परिचय दिंदा समेत यस्ता क्याम्पस प्रमुखले के पढाएका होलान भन्दै अभद्र शब्दहरु प्रयोग गरी अपमानित गरेको डा. घनश्याम परिश्रमीले बताए।

यो घटना सामाजिक संजालमा राखेका परिश्रमीको पक्षमा सयौंको संख्यामा प्रतिक्रिया आएको छ। डा. परिश्रमीको पोष्टमा ५२४ प्रतिक्रिया र ४१२ शेयर भएको छ । प्रतिक्रिया दिनेहरुमा नेपालको नोकरीतन्त्रको पुरानो ढाँचामा नै प्रश्न उठन थालेको छ। डा.परिश्रमी वर्दघाट नगरपालिकाको प्रज्ञा प्रतिष्ठानको कुलपति समेत हुन् । यस विषयमा जिज्ञासा राख्दा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले त्यो समयमा आफुहरु कार्यालयको स्टाप मिटिङमा रहेकाले कार्यालयको कुर्ची खाली देखिएको दावी गरे। अन्य सेवाग्रहीले भने सेवा प्रदायक कार्यालयमा कर्मचारी आफुहरुले देख्दादेख्दै पछि आएको बताएका छन।

प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार डा.परिश्रमीलाई कार्यकक्षमा बोलाएर सेवाप्रदान भयो कि नाई भनि सोधेको र आफना कुनै कर्मचारीहरुले उहाँसंग अभद्र व्यवहार नगरेको दावी गरे ।

डा. घनश्याम परिश्रमीको स्टाटस…
आज जिल्ला प्रशासन कार्यालय नवलपरासी–बर्दघाट सुस्ता पश्चिम (बसुप) परासीमा म प्रमुख जिल्ला अधिकारीको सम्मुख हाजिर हुन बाध्य भएँ। कारण थियोे, म मेरो राष्ट्रिय परिचयपत्रका लागि सम्बन्धित शाखामा बिहान १०ः०० बजे पुगेको थिएँ। बिस्तारै अन्य सेवाग्राहीहरू पनि पुग्नुभयो। १०ः३० बजिसक्यो, एकजना पनि कर्मचारीहरूको उपस्थिति भएको थिएन। सेवाग्राहीहरू सल्बलाउन थाल्नुभएको थियोे। इलेक्ट्रोनिक हाजिरीमा केही समय लागेको होला भन्ने लागेको थियोे मलाई। मैले कर्मचारीहीन कुर्सीहरूका फोटो खिचेँ। १०ः४५ बज्यो। अझै पनि कुनै कर्मचारीको उपस्थिति भएको थिएन । ११ः०० बज्यो। पत्रकार गोपी ज्ञवालीलाई फोन गरेँ, उहाँ काठमाडौंमा हुनुहँदो रहेछ। अब त मेरो पनि धैर्यको बाँध टुट्यो। यही कामका लागि म हिजो पनि त्यहाँ पुगेको थिएँ। पुरानो नागरिकताको प्रमाणपत्र भएकोले जन्ममिति उल्लेख थिएन। सम्बन्धित शाखाकी महिला कर्मचारीले जन्ममिति खुलेको प्रमाणपत्र लिएर आउन आग्रह गर्नुभयो। उहाँको सुझावलाई आत्मसात् गरेर आज जन्ममिति खुलेको प्रमाणपत्र लिएर गएको थिएँ म। उहाँ भने उपस्थित हुनुभएको थिएन।

मैले सामाजिक सञ्जालमा सम्बन्धित शाखामा ११ः०० बजेसम्म कोही उपस्थित नभएको उल्लेख गरेर प्रमुख जिल्ला अधिकारीज्यूको ध्यानाकर्षण होस् भनी एउटा स्टाटस पोस्ट गरेँ। ठिक ११ः०१ बजे एकजना पुरुष कर्मचारीको उपस्थिति भयो। उहाँले उपस्थित भएपछि तुरुन्तै काम सुरु गर्नुभयो। मेरो पालो २ नम्बरमा आयो। मेरो ई. जन्ममिति १८–०६–१९५८ रहेको प्रमाणपत्र पेस गरेँ। उहाँले मेरो वि.सं. जन्ममिति सोध्नुभयो। मैले ४ असार २०१५ हो भनेँ। उहाँले जोडघटाउ गर्नुभयो। मिति मिलेपछि मेरो काम छिटोछरितो ढंगले गरिदिनुभयो। अनि कागज दिएर ७ नम्बरमा पठाउनुभयो मलाई। म त्यहाँ झ्यालबाहिर तातोमा लाइनमा उभिएको थिएँ।

एकाएक एउटा कर्मचारी चर्काे स्वरमा घनश्याम परिश्रमी को हो ? भन्दै आउनुभयो, मैले म हुँ भनेर जानकारी गराएँ। उहाँसँग एक जवान प्रहरी पनि हुनुहुन्थ्यो। उहाँहरूमध्ये कर्मचारीले मलाई च्याप्प समाउनुभयो र भित्र जान भन्नुभयो। प्रहरी पनि पछि पछि लाग्नुभयो। म अचम्म मान्दै थिएँ। मलाई प्रमुख जिल्ला अधिकारीज्यूको कुर्सी अगाडि हाजिर गराइयो। म सोफामा बसेँ, प्रमुख जिल्ला अधिकारीज्यूले मलाई प्लास्टिकको कुर्सीमा बस्न आदेश दिनुभयो। अनि यसपछि कर्मचारीले थर्काउन थाल्नुभयो मलाई, मैले पोष्ट गरेकोे विषयलाई लिएर। प्रमुख जिल्ला अधिकारीज्यूले उहाँलाई नै सपोर्ट गर्दै मलाई सामाजिक सञ्जालमा यस्ता कुरा हाल्न नहुने तपाईंले, मलाई भन्नुपर्ने थियोे भन्नुभयो। मैले आफ्नो योग्यता र विश्वविद्यालयबाट अवकाशप्राप्त प्राध्यापक भएको जानकारी पनि गराएँ। कर्मचारीले त मेरो योग्यता र क्षमताको खिल्ली नै उडाउनुभयो। जो चोर उसैको ठुलो स्वर भनेझैं गरेर उहाँले मलाई थर्काउन नै खोज्नुभयो। मैले तपाईंहरूलाई असजिलो हुन्छ भने म पोस्ट हटाउँछु भनेँ र तत्काल हटाएँ पनि। मलाई लागिरहेको थियोे, प्रमुख जिल्ला अधिकारीज्यूले मलाई धन्यवाद दिनुहुनेछ। तर त्यसो भएन, उहाँले आफ्ना कर्मचारीको बचाउ गर्नुभयो। उहाँको इजलासबाट मुक्त भएपछि म पुनः ७ नम्बरको कक्षबाहिर तातो घाममा लाइन उभिएँ, पालो आएपछि निर्बाध मेरो कागजमा सम्बन्धित अधिकृतले हस्ताक्षर गर्नुभयो। त्यो लिएर म पुनः सम्बन्धित विभागमा पुगेँ। किन ढिलो भयो तपाईंको काम ? कर्मचारी सोध्दै हुनुहुन्थ्यो। मैले यी सब कुरा बताइनँ उहाँलाई। उहाँले अन्तिम हस्ताक्षर गरेर मलाई राष्ट्रिय परिचयपत्रको अस्थायी निस्सा दिनुभयो। उहाँलाई ह्दयदेखि नै धन्यवाद दिँदै म खुसी र विस्मात् दुवैलाई अनुभूत गर्दै बाहिरिएँ।

मैले लाखभन्दा बढी विद्यार्थीलाई पढाएँ जीवनमा। भाषा साहित्यका क्षेत्रमा आजसम्म सेवा योगदान गर्दै छु। मैले जहिल्यै, भ्रष्टाचार, कामचोरी प्रवृत्तिका विरुद्ध लेख्दै आएको छु, लेखी पनि रहनेछु। पञ्चायतकालमा अनेकौं अपमान सहनुपथ्र्याे प्रहरी प्रशासनबाट। लोकतन्त्रमा कर्मचारीतन्त्र यस्तो हुन्छ भन्ने मैले ठानेको थिइनँ । सत्य कुरा सार्वजनिक गर्नु के मैले गरेको अपराध थियोे र? आज जीवनमा सबैभन्दा नमिठो अनुभूति गरेको दिन भएको छ मेरो। यसले एउटा महत्त्वपूर्ण लेख जन्माउनेछ अवश्य पनि। मैले फेरि यही स्टाटसका कारण प्रमुख जिल्ला अधिकारीज्यूका सामु हाजिर हुनु पनि पर्ला। तर गलत कुरालाई ढाकछोप गर्न मेरो विवेकले मान्दैन, मेरो नैतिकताले जान्दैन।



सम्बन्धित
Loading...