लोक संगीतमा गायक हुम गैरेको दुई दशक

पाल्पा जिल्ला निस्दी गाउँपालिका वडा नं. ५ मा पिता पूर्णबहादुर गैरे र स्वर्गीय माता कल्पना गैरेको परिवारमा दोस्रो सन्तानको रुपमा जन्मिएका हुम गैरे लाखौं स्रोता दर्शकको मन अनि मुटुमा बस्न सफल गायक तथा सर्जक हुन् ।
नेपाली गीत संगीतको बजारमा चर्चित अनि ब्यवसायिक र लोकप्रिय सर्जकहरुको नाम लिनु पर्दा गैरेको नाम नि अग्रपंक्तिमा आउँछ । नेपाली संगीत बजार डिजीटल मार्केटमा फड्को मार्नु अघि निकै थोरै मात्र ब्यबसायीक गायक, गायिका अनि सर्जकहरु थिए त्यतिबेला गैरेको रिलमा निस्कने क्यासेट एल्बम दर्शक स्रोताले खोजी खोजी किन्ने र सुन्ने गर्दथे । आजकाल उनलाई स्रोताले यु.टुब, टिकटक, फेसबुक लगायतका डिजीटल गीत संगीतका प्लेट फर्ममा खोज्ने गर्दछन् । प्रबिधिले गर्दा व्यवसायको प्रकृति फेरिए पनि उनको लोक प्रियता भने उस्तै छ ।
परिवारको एकमात्र छोरोको रुपमा जन्मिएका कारण स्वाभाविकै उनमा परिवारिक जिम्मेवारी पनि उत्तिकै थियो । तर पनि हरेक कुरालाई सरल, सहज र सकारात्मक रुपमा लिने स्वभावका हुमले आफ्ना जिम्मेवारीहरु ईमान्दारीता अनि लगनसिलताका साथ पुरा गर्दे गए । त्यती बेलाको समय अहिलेको जस्तो कहाँ सहज थियो र व्यवसायिक रुपमा गीत गाउँछु कलाकार बन्छु भन्ने कुरा एउटा गाउँले केटोलाई कल्पना भन्दा नि बाहिरको कुरा थियो । सुरुवाती दिनमा परिवारको सहयोग खासै नभए तापनि मगर समुदाय र गाउँले परिबेशमा हुर्केका कारण लुकीछिपी छिमेकी गाउँको रोधीमा गीत गाउँदै बिस्तारै सांगीतिक बाटो कोरेको हुँ आफ्नो सुरुवाती दिन सम्झिीदै गायक हुम भन्छन् ।

त्यो बेला गाउँ घरमा रोधि बस्ने चलन निकै थियो । उनलाई रोधिमा गाउन निकै रहर लाग्थ्यो । तर बाबा आमाको चाहाना छोराले धैरे पढोस् सरकारी जागीर खाओस् भन्ने थियो त्यसैले पनि उनी खुलेर गीत गाउन पाउँदैन थिए । घरको झ्यालबाट भागेर लुकीछिपी मगर गाउँमा रोधि बस्न पुग्थे । गाउँका हरेक बिहे, भोज, पास्नी, पूजाआजा अनि मेलामा लुकी छिपी गीत गाउनको लागी हुम नपुगेको ठाउँ कमै हुन्थ्यो । गैरेले सम्झिन्छन् – ‘रातीमा होमवर्क गर्न छोडेर लुकी छिपी घरको झ्यालबाट भागेर छिमेकी गाउँमा रोधि बस्न जाँदा धेरै पटक आमाको कुटाई खाँए ।’
बिद्यालयको साप्ताहिक कार्यक्रम र गाउँका क्लवहरुको बार्षिक उत्सवका अबसरमा हुने साँस्कृतीक कार्यक्रम अनि रेडियो नेपाल क्षेत्रिय प्रसारण केन्द्र पोखराबाट प्रसारण हुने बरिष्ठ लोक गायक पुरुषोत्तम न्यौपानेद्वारा संचालित देउराली कार्यक्रमबाट औपचारीक गायन यात्रा आरम्भ गरेका गैरेले पहिलो पटक २०६० सालमा सिसा फ्रेममा बोलको पहिलो गीत रेकर्ड गराए । सर्मिला गुरुङ र कृष्ण परियारसंग गाएको त्यो पहिलो गीतले नै उनलाई नेपालको पश्चिम क्षेत्रमा एउटा आशा लाग्दो गायकको पहिचान दिलाएको थियो । त्यस पछि रेकर्ड भएका हरेक गीत चर्चित हुदै गए पछि एकातिर उनका फ्यान बढ्दै गए भने अर्को तिर उनी छोटो समय मै स्थापित कलाकार भए । २०५९ सालदेखि २०६४ साल सम्म गैरेले धेरै स्थानिय स्तर देखी राष्ट्रिय स्तर सम्मका दर्जनौ दोहोरी गीत तथा एकल लोक गीत प्रतियोगीताहरुमा सहभागी हुदै धेरै प्रतियोगीतहरुमा बिजेता बने अहिलेका स्थापित गायिकाहरु बिष्णु माझी, देबी घर्ती, ज्योती मगर, कालिका रोका, जमुरा राना लगायतहरुसंग प्रतियोगीतामा भिडेका हुन गायक गैरे ।
२०६४ साल पछि उनको संगीत यात्राले अर्को मोड लियो संचारकर्मी अनि गायन संगसंगै शब्द रचना र भाका सिर्जनामा गैरे लागे । बियोगान्त गीत रचना गर्न, लेख्न र गाउन रुचाउनी गैरेको मौलिक पञ्चेबाजा, सालैजो, कडुवा, रोईला (खेली), तिज गीतहरु, पर्व गीतहरु साथै केही आधुनिक र चलचित्रका गीतहरु पनी चर्चित छन् ।
हुमले अहिलेसम्म करिब ७ सय भन्दा धेरै गीतमा शब्द तथा भाका रचना गरि सकेका छन भने करिब १०० भन्दा धेरै गीतमा स्वर दिई सकेका छन् । लामो समय देखी चर्चाको एउटै उचाईमा रहन सफल गायक तथा सर्जक हुमका घिटी घिटी बाँचिराको छु, करुवामा पानी, भेटौला अबश्य,तिम्लाई सम्झिी रुनु रैछ र, बोल्नै पर्देन,सम्झना छ भन्देउ, फुल खेलेको सिमी, देख्न पाए यो मन भुल्थ्यो की, अझै तिम्रै मायाँ छ किन, ईतिहास,सोल्टीले मलाई आँखा मार्यो नि, ठमेलको चोक, जम्दार बाको छोरी, पुर्व होस् या पश्चिम की, पञ्चेबाजमा नभन के गरम,दुलही रानी, सानु तिमी जाँदै छौ भोली, तिज गीतहरुमा झ्याम पुतली झ्याम, चर्चा धेरै भो,मलाई केटा चाहिएको पैसा वाला हो, लाउरेको छोरी, सारी सरक्कै, बिरहको तिज साथै पर्व गीतहरुमा दशैं अनि तिहार, दशैं आयो, भाईटिका लगायत दर्जनौ गीतहरु हिट लिष्टमा रहेका छन् । नेपाली गीत संगीत बिशुद्ध मौलिक एवं परम्परागत हुनु पर्छ भन्ने मान्यता राख्ने गायक गैरे देश तथा बिदेशका स्रोता दर्शकका अतिरिक्त आफनो समुदायमा समेत लोक प्रिय छन्।
गीत गाउनको लागी स्वदेशका धैरे जसो जिल्लाहरुका मेला महोत्सब तथा साँस्कृतीक कार्यक्रमका अतिरिक्त छिमेकी राष्ट्र भारतका बिभिन्न शहरहरु संगै, मलेसिया, दुबई, कतार, बहराईन लगायतका देशको भ्रमण गरि सकेका छन् ।
बरिष्ठ लोक गायक नारायण रायमाझी तथा बरिष्ठ लोक गायक ईन्द्र जि.सी.लाई सांगीतिक गुरु मान्ने गायक तथा सर्जक गैरे बिभिन्न संघ संस्थामा समेत अबद्ध छन्। हजारौ कलाकारहरुको छाता संगठन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको संस्थापक पाल्पा जिल्ला सदस्य, सचिब र अध्यक्ष हुदै केन्द्रिय समितिको सदस्य समेत बनि सकेका छन् भने संगीत तथा चलचित्र उत्पादक समाज नेपालको संस्थापक सदस्य, महासचिब हुदै अहिले उपाध्यक्ष पद सम्हाल्दै हजारौ स्रष्टा, सर्जक, प्रस्तोता अनि उत्पादकहरुको संगीत रोयल्टी स्थापित गर्न अहोरात्र खटी रहेका छन् ।
सरल, शान्त र सहयोगी स्वभावका गायक गैरे चौथो राप्ती म्यूजिक अवार्ड २०७१, पाँचौं राष्ट्रिय लोक दोहोरी अवार्ड २०७४, नेपाल संगीत उघोग संघ राष्ट्रिय म्यूजिक अवार्ड २०७७, संगीत नाट्य कला प्राज्ञ प्रतिष्ठान लुम्विनी नव प्रतिभा सम्मान, भगत सर्वजित स्मृती लोक प्रतिभा सम्मान,प्रशंसनिय दृष्टीकोण राष्ट्रिय संञ्जाल नेपाल लोक प्रतिभा सम्मान, सामुदायिक रेडियो मदनपोखरा लोक प्रतिभा सम्मान, निस्दी गाउँपालिका लोक प्रतिभा सम्मान, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पा लोक प्रतिभा सम्मान, मदनपोखरा बिशाल लोक तारा जुरि निर्णयक सम्मान, चौथो ज्वती फिल्मस् म्यूजिक अवार्ड २०७९ जुरी निर्णायक सम्मान तथा प्रथम सुप ईन्टरटेनमेन्ट म्यूजिक अवार्ड २०७९ जुरी निर्णायक सम्मान लगायत अन्य बिभिन्न दर्जनौं संघ संस्थाहरुबाट समेत सम्मान पत्र र कदर पत्रहरु प्राप्त गरेका छन् ।
साथै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल र नेपाल संगीत उघोग संघको अजिबन सदस्य तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा पाल्पा र नवलपुर युवा मञ्चको प्रमुख सल्लाहाकारको रुपमा रहेका छन् ।
२०६८ सालमा बिशाल मुभिज नामको म्यूजिक कम्पनी स्थापना गरी संगीत ब्यवसाय तिर पनि हात हालेका गैरेले सो म्यूजिक कम्पनी मार्फत करिव पाँच सय भन्दा बढी गीतको अडियो अनि भिडियोको उत्पादन तथा बजार ब्यवस्थापन गरि सकेका छन् । सोही कम्पनी मर्फत बिशाल लोकतारा ३ सिजन, बिशाल आधुनिक तारा १ सिजन, बिशाल लुम्विनी लोक दोहोरी अवार्ड पहिलो र दोस्रो संस्करण सम्पन्न गरी दर्जनौ कलाकारहरुलाई सम्मानित र प्रोत्साहित गरी सकेका छन् । गायन र सिर्जना संगै गैरे पछिल्लो समय म्यूजिक भिडियो निर्देशनमा समेत ब्यस्त बन्दै आएका छन् । सयौं गीतको भिडियो निर्देशन गरि सकेका गैरेको निर्देशनमा सानु र कर्म नामक सामाजिक कथा बस्तुमा आधारित रहेको दुई ओटा नेपाली ठुलो पर्दाको चलचित्र प्रर्दशनको तयारीमा रहेको छ ।
गायक गैरेको समाज सेवामा पनि उत्तिकै रुचि छ आफ्नी स्वर्गीय माता कल्पना गैरेको स्मृतीमा कल्पना स्मृती फाउण्डेसन दर्ता गरी गरिब, दुःखी, अनाथ र असाहायहरुलाई सक्दो सहयोग गर्दे आई रहेका छन्। नेपाली गीत संगीतको क्षेत्रमा दुई दशक समय बिताई सकेका गायक गैरे हरेक बिधामा अब्बल मानिएका नेपाली संगीत जगतका एक उज्वज नक्षत्र हुन् ।