कावासोती नगरपालिकाले विद्यार्थीलाई दिएको निशुल्क किताबको भुक्तान दिएन
अर्जुन अविरल –
नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा गत बर्षदेखि कक्षा १० सम्मका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई दिदै आएको निशुल्क पुस्तकको भुक्तान दिएको छैन ।
अघिल्लो बर्ष कावासोती नगरपालिकाको कार्यपालिकाले कावासोती नगरपालिका भित्र सामुदायिक विद्यालयका कक्षा १० सम्मका विद्यार्थीलाई लगाइने किताबको अपुग रकम नगरपालिकाले भुक्तान गर्ने भनि विद्यालय पाठ्य पुस्तक छनौट तथा व्यवस्थापन कार्यविधि २०७८ पास गरेर नै गत बर्षदेखि पुस्तक निशुल्क वितरण गरेको भए पनि यस बर्ष नगरपालिकाले भुक्तान गर्न आनकानी गरेको कावासोती १० का स्थानीय पुस्तक व्यवसायी तिर्थराज काफ्लेले बताए ।
बुधबार कावासोतीका पुस्तक व्यवसायीहरु रकम भुक्तानका लागि नगरपालिका गएकोमा नगरप्रमुख विष्णु भुसालले आफूलाई यस विषयमा जानकारी नै नभएको भन्दै भुक्तान दिन नसक्ने जनाएका हुन् । उनका अनुसार प्रक्रिया नै पुरा नगरी पुस्तक छनौट गरेको, टेण्डर प्रक्रिया मार्फत खरिद प्रक्रियामा जानु पर्नेमा त्यसो नगरेकोले पुस्तकको थप रकम दिन नसकिने भएको हो ।
कावासोतीमा ४० वटा सामुदायिक विद्यालय रहेका छन् । सामुदायिक विद्यालयमा जनक शिक्षा सामग्रीले प्रकाशन गरेको पुस्तकमा अंग्रेजी माध्यमबाट पठनपाठन हुने सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको पुस्तक लगाए वापतको अपुग रकम कावासोती नगरपालिकाले दिने कार्यविधिमा उल्लेख गरिएको छ ।
कावासोती नगरपालिकाको विद्यालय पाठ्य पुस्तक छनौट तथा व्यवस्थापन कार्यविधि २०७८ को परिच्छेद २ को पाठ्य पुस्तक छनौट, वितरण र भुक्तानी प्रक्रिया सम्बन्धी व्यवस्थाको ४ क मा – ‘कावासोती नगर भित्र सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १० सम्म नेपाली÷अंग्रेजी माध्यमका विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले निर्दिष्ट गरेका विषयका जनक शिक्षा सामग्रीबाट प्रकाशित सरकारी पाठ्यपुस्तकहरु निशुल्क उपलब्ध गराउने प्रावधान बमोजिम र अंग्रेजी माध्यममा अध्ययन गर्ने विद्यार्थीहरुलाई तोकिएको विषयका लागि नगरपालिकाले छनौट गरेका अंग्रेजी माध्यमका पाठ्यपुस्तकहरुका लागि संघ र प्रदेशबाट यस शिर्षकमा प्राप्त हुने अनुदानले अपुग हुने रकमको व्यवस्थाका लागि नगरले रकम व्यवस्था गरी निःशुल्क रुपमा पाठ्यपुस्तक उपलब्ध हुने व्यवस्था गरिने छ ।’ भनि उल्लेख गरिएको छ ।
कावासोती नगरपालिकाले गत बर्ष यही कार्यविधिलाई टेकेर अपुग रकम सम्बन्धित विद्यालय मार्फत पुस्तक व्यवसायीलाई हस्तान्तरण गरेको थियो ।
कावासोती नगरपालिकाले यस बर्ष अतिरिक्त किताबको लागि १ करोड ४१ लाख रुपैयाँ विभिन्न सामुदायिक विद्यालयमा पुस्तक उपलब्ध गराउन छुट्याएको छ । ति मध्ये १ करोड १० लाखको हाराहारीमा पुस्तक व्यवसायीलाई सम्बन्धित विद्यालय मार्फत भुक्तान रकम पठाउनु पर्ने देखिन्छ ।
कावासोतीका ४० वटा सामुदायिक विद्यालयमा १३ देखि १५ हजार बालबालिका अध्ययनरत रहेको आंकलन रहेको छ ।

