बालकको ज्यान गएको ४ महिनामा पनि दोषी पत्ता लागेन

रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ६ भण्डारामा साढे २ बर्षीय बालक विनोद महताको दुर्घटनामा परी निधन भएको ४ महिना वितिसक्दा अझै दोषी पक्राउ गर्न नसकेको भन्दै स्थानीयले आइतबार जिल्ला प्रहरी कार्यालय नवलपुर अगाडि घेराउ गरेका छन् ।
गत माघ १३ गते आफ्नै घर अगाडि खेलिरहेको अवस्थामा प्रदेश ३ ०१०२३ च ६९५८ नम्बरको कारले आफ्नो बच्चालाई ठक्कर दिई बालकको निधन भएको बालकका आमा मोति कुमारी महतोले दाउन्ने न्यूजलाई बताए ।
पीडितका आफन्तले प्रहरीकोमा गाडी नम्बर सहित किटानी जाहेरी दिए पनि प्रहरीले गाडीलाई नियन्त्रणमा लिन आलटाल गरेको र दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै स्थानीयले आइतबार प्रहरी कार्यालय घेराउ गरेका हुन् ।
ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारको क्रममा सोही दिन मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको थियो । मृतकका ६ बर्षीय दिदी रुपा महतो रहेका छन् भने मृतकका बुवा कमल महतो ६ महिनादेखि मलेसियामा बैदेशिक रोजगारीको शिलशिलामा गएका छन् ।
प्रहरीले ७ दिनको म्याद मागेर आफूहरुले ७ दिन भित्र छानविन गरी सक्ने जनाएको कारण तत्काललाई स्थानीय फर्किएका थिए । नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले आफूहरु घटनाको अनुसन्धानको नजिक नजिक पुगेको भन्दै केही दिनमा दोषीलाई पक्राउ गरी पीडितलाई न्याय दिने बताए ।