कावासोतीमा मनाइयो असार १५ राष्ट्रिय धान दिवस


रामकुमार श्रेष्ठ –



नवलपुर । पूर्वी नवलपरासीमा असार १५ मा धान दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।

कावासोती ९ मा कावासोती नगरपालिकाको आयोजनामा शुक्रबार राष्ट्रिय धान दिवस धान रोपेर मनाइएको हो ।



कावासोती ९ मा रहेको वडा प्रबद्र्धन प्रतिष्ठानको संयोजनमा धान रोपाई गरिएको हो । कार्यक्रममा नवलपुरका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख भुवनेश्वर तिवारी, कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपालप्रसाद लामिछाने, कावासोतीका निमित्त प्रमुख प्रशासकीय अधिकृत छत्रबहादुर भण्डारी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम कावासोती नगरपालिकाका नगर उपप्रमुख फुलकुमारी थनेतको अध्यक्षतामा भएको थियो । धान रोपाई पछि दही चिउरा खाँदै असारे भाकामा नाच गान पनि गरिएको थियो ।

वडा प्रबद्र्धन प्रतिष्ठानका अध्यक्ष पं. विष्णुप्रसाद पोख्रेलको खेतमा धान रोपाई गरिएको हो ।

नवलपुरमा असार १५ सम्ममा १० प्रतिशतको हाराहारीमा धान रोपाई सकिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेले बताए । नवलपुरमा १८ हजार ८ सय १६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ । नवलपुरमा सिमसार क्षेत्रमा चैते धान खेती पनि हुने गर्दछ ।

त्यसैगरी आज हुप्सेकोट, बुलिङटार, डेढगाउँ, मध्यविन्दु, गैडाकोट, विनयत्रिवेणी, देवचुलीमा पनि पालिकाहरुको आयोजनामा असार १५ अर्थात राष्ट्रिय धान दिवस धान रोपाई लगायतका विविध कार्यक्रम गरी मनाइएको छ ।

यसैबीच कावासोती ९ को वडा प्रबद्र्धन प्रतिष्ठानले कावासोतीमा १६ कठ्ठा जग्गामा सामुहिक धान खेती गर्ने भएको छ ।



सम्बन्धित
Loading...