नवलपुरमा ११ महिनामा ३ सय ६६ जनामा डेंगी
रामकुमार श्रेष्ठ —
नवलपुर । पूर्वी नवलपरासीमा पछिल्लो ११ महिनामा ३ सय ६६ जनामा डेंगी रोग देखा परेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका कार्यालय प्रमुख केशवप्रसाद चापागाईका अनुसार नवलपुरमा सबैभन्दा बढी असोज र कात्तिक महिनामा डेंगीका रोगी देखिएका छन् ।
नवलपुरमा आर्थिक बर्ष २०७९।०८० को बैशाखदेखि फाल्गुन गरी ११ महिनामा १ सय ५६ जना महिला र २ सय १० जना पुरुष गरी ३ सय ६६ जनामा डेंगी रोग देखा परेको हो । जस मध्ये असोजमा १ सय ५ जना र कात्तिकमा १ सय ११ जनामा डेंगी रोग देखा परेको स्वास्थ्य कार्यालय नवलुरका प्रमुख चापागाईले बताए ।
चापागाईको अनुसार आर्थिक बर्ष २०७९।०८० मा नवलपुरमा डेंगीबाट १ जनाको ज्यान गएको छ । नवलपुरमा अहिले अस्पतालमा उपचाररत १ जना डेंगी रोगका विरामी रहेका छन् ।

डेंगी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरल रोग हो । एडिस एजिप्टाई नाम रहेको लामखुट्टेको महिला प्रजाति डेंगीका प्रमुख भेक्टर हुन् । यसले दिउँसोको समयमा मानिसले टोक्ने गर्दछ ।
डेंगु लागेको २–७ दिनमा यस रोगका लक्षणहरु देखिन थाल्छन्। जसमा उच्च ज्वरो (१०४ डिग्री फरेनहाइट) प्रमुख लक्षण हो। साथसाथै अन्य लक्षणहरुमा टाउको दुख्ने, मांसपेसी दुख्ने, आँखाको पछिल्लो भाग दुख्ने, वाकवाकी लाग्ने, बान्ता आउने, ग्रन्थी सुन्निने आदि हुन्छन् ।

लामखुट्टेको प्रजननमा रोकथाम तथा घरवरपर बसोबास गर्नबाट रोक्ने उपायहरु महत्वपूर्ण छन्। इन्टिग्रेटेड भेक्टर म्यानेजमेन्ट प्रणाली अन्तर्गत भेक्टरलाई कसरी घरवरपर बसोबास गर्न रोक्ने, लामखुट्टेको टोकाइबाट बच्ने तरिका, अण्डा नष्ट गर्ने प्रक्रिया आदि पर्दछन्।

किटनाशक प्रयोग गरिएको झुलको प्रयोग गर्ने, घरको कुनाकाप्चा तथा लामखुट्टे बसोबास गर्नसक्ने स्थानमा किटनाशक औषधि छर्किने, हावामा छर्किन मिल्ने स्पेस स्प्रेको प्रयोग तथा पानी जम्मा हुने सतहहरु सम्याउने, भाँडाहरु छोप्ने, पानीको सतहमा लामखुट्टे प्रतिरोधी (लार्भा नाशक) औषधिहरु छर्किने, किराहरु खाने माछा तथा अन्य जीव पालन गर्ने आदि उपाय प्रभावकारी हुने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।
