दशैंको मुखमा नवलपरासीमा नक्कली नोटको विगविगीः नक्कली नोटसहित दुई जना पक्राउ




नवलपरासी, २४ असोज । नक्कली नोटसहित दुई जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ जिल्लाको ऋषिङ्ग गाउँपालिका–३ दानश्री बस्ने २५ वर्षीय सुरज विक र पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका–६ ठिमुरे बस्ने ३० वर्षीय कृष्ण बहादुर विश्वकर्मा रहेको प्रहरीले जनाएको छ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ बर्दघाट स्थित विनय होटल एण्ड रेष्टुरेष्टबाट उनीहरुलाई आज दिउँसो नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।



नक्कली नोटको कारोबार भईरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले एक हजार दरको १३९ थान अर्थात एक लाख उनन्चालिस हजार रुपैँयाको नक्कली नोटसहित नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले बताए ।

होटलमा कोठा भाडामा लिई बसेका उनीहरुको साथबाट क्यामल स्टेम्प छाप एक थान,साईनी स्टीकर छाप ६ थान, गान्धी स्टेम्प एक थान, लालिगुँरास स्टेम्प एक थान,स्मार्ट ह्वाईट ग्लु दश थान, फलामको स्केल एक थान, मोबाईल दुई थान, कालो ब्रस एक थान र कैँची एक थान समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिए ।



सम्बन्धित
Loading...