नवलपुरमा मोबाइल पसलमा आगलागी, ७०/८० लाखको क्षति

रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीमा मोबाइल पसलमा आगलागी हुँदा ७०÷८० लाख बराबरको क्षति भएको छ ।
गएराति हुप्सेकोट गाउँपालिका ४ झ्यालबास बजारमा रहेको दाजुभाई मोबाइल पसलमा आगलागी भएको हो । विद्युतको तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
झ्यालबास बजारमा यमबहादुर बाकवलको २ तले घरको तल्लो तलामा सञ्चालनमा रहेको हुप्सेकोट १ जुकेपानी बस्ने खेमु गाहाले सञ्चालन गर्दै आएको मोबाइल पसलमा आगलागी भएको हो । राति सवा १२ बजे तिर भएको आगलागी राति सवा १ बजेतिर मात्र प्रहरी, दमकल र स्थानीयको सहायतामा नियन्त्रणमा लिएको थियो ।
क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदप्रसाद पौडेलले बताए । आगलागीबाट ७०/८० लाख बराबरको क्षति भएको पसल सञ्चालक खेमु गाहाले बताए ।