कावासोतीमा मखमली फूलखेतीतर्फ आकर्षण बढ्यो, कम लगानीमा मनग्य आम्दानी


रामकुमार श्रेष्ठ —
नवलपुर । फूलहरुको पर्व तिहार आउन केही दिन बाँकी छ । तिहारमा भाइटिकाको दिन लगाइदिने सयपत्रि फुलको मालाको आफ्नै धार्मिक मूल्य र मान्यता रहेको छ तर नेपालमा अहिले सयपत्रि र मखमली फुलको सट्टा भारतीय बजारबाट भित्रिएका कृतिम मालाको प्रयोग भाइटिकामा गर्ने प्रचलन बढेकृो छ । कति पय अवस्थामा घरमा बेलैमा फूल नफुलेर तर कतिपय अवस्थामा बजारमा सहजै फूलका माला नपाएर पनि भारतीय कृतिम मालाले बजार लिएको हो ।



अहिले नवलपुरमा भने तिहारमा सयपत्री र मखमली फूलको माला बजारमा पुर्याउन कति पय किसानहरुले ब्यवसायिक रुपमा त कतिपय समूह, विद्यालय, क्याम्पस लगायतले सामुहिक रुपमा फूल खेती गरिन थालेको छ । थोरै खर्चमा मनग्य आम्दानी गर्न सकिने यो फूलखेतीतर्फ किसानहरुको आकर्षण बढ्दै पनि गएको छ ।

५ सय विरुवाबाट १ सिजनमा २ देखि अढाई लाखसम्म कमाउन सकिन्छ । ३/४ महिनामा तयार हुने फूलखेती गर्न मेहनत पनि त्यति धेरै पर्दैन । यसको बजार अहिले नेपालमा राम्रै रहेको छ भने बजार भाउ पनि राम्रो रहेको छ । फूलका माला प्रति माला १२० देखि २०० रुपैयाँ सम्म र फूल प्रतिकिलो ५ सय देखि ६ सय रुपैयाँसम्म विक्री हुने गरेको छ ।



तिहारमा प्लाष्टिकका मालाका कारण बर्षेनी अर्बौं रुपैयाँ विदेशीने गरेको छ । कावासोती ९ को वडा प्रबद्र्धन प्रतिष्ठानले फूल विक्रीबाट आएको रकमबाट समाजिक कार्यमा खर्च गर्ने गरी सामुहिक फूल खेती गरेको छ । वडा प्रर्वद्धन प्रतिष्ठानका अध्यक्ष पं. विष्णु प्रसाद पोख्रेलले फूल खेतीबाट राम्रो आम्दानी हुने गरेको बताए ।

कावासोती ७ की मिश्रा पराजुलीले तीन वर्षदेखि फूल उत्पादन गर्दै आएका छन् । फूल व्यवसायबाट राम्रो आम्दानी भएपछि उनले आफैले माला बनाएर बजार र घरबाटै बेच्ने गरेको बताए । सानो थुङ्गा भए प्रतिमाला १३० र ठूला थुङ्गा भए प्रतिमाला १४० रुपियाँमा बेच्ने पराजुलीले बताए ।

नवलपुरको कावासोती, देवचुली लगायतका पालिकाहरुमा सामुहिक र व्यवसायिक रुपमा फूल खेती गरिएको छ । नवदुर्गा सामुदायिक वन उपभोक्ता समितिले दश कठ्ठा जमिनमा व्यावसायिक फूल खेती गरेको छ भने यता कावासोतीको नवलपुर क्याम्पसले पनि सामुहिक फूल खेती गरेको छ ।



सम्बन्धित
Loading...