भिजिट भिसामा विदेश पठाइदिन्छु भन्दै नक्कली कागजात बनाउने ४ जना पक्राउ
भिजिट भिसामा विभिन्न देशमा पठाई दिने भनि नक्कली कागजात बनाउने कार्यमा संलग्न थप चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौंको नयाँ नयाँबानेश्वरका ३७ वर्षीय अनिष अमात्य, नुवाकोटको सूर्यगढी नगरपालिका–३ घर भइ ललितपुरको ईमाडोल बस्ने ४५ वर्षीय गोपाल रिजाल (प्रगती विद्याश्रम कन्सल्टेन्सी, सञ्चालक), धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ घर भइ हाल नयाँबजार बस्ने ३२ वर्षीय पशुपति मैनाली (निप्पोन कन्सल्टेन्सी, संचालक) र झापाको भद्रपुर नगरपालिका–१० घर भइ बूढानीलकण्ठ बस्ने वर्ष ३२ को सागर चापागाई (एसटू अबरोड कन्सल्टेन्सी, संचालक) रहेका छन्।
कात्तिक १८ गते चार जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त, महाराजगंज पठाईएकोमा उक्त कार्यमा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको हुन सक्ने देखिएकोले थप अनुसन्धान गर्ने क्रममा अनिष, गोपाल, पशुपति र र सागर पक्राउ परेका हुन्।
उनीहरूलाई विभिन्न व्यक्तिहरूको नामको नक्कली शैक्षिक प्रमाण पत्र, विभिन्न सरकारी कार्यालयका होलो ग्राम, ल्यापटप, प्रिन्टर र सरकारी कार्यालयको छाप थान–२३० सहित काठमाडौंका विभिन्न स्थानबाट कात्तिक १९ गते पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
पक्राउ परेका उपर लिखत सम्बन्धी कसुर मुद्दामा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि आज (सोमबार) प्रहरी वृत्त, महाराजगंज पठाइएको छ।