कावासोतीमा नेवाः देय् दबुले गर्यो नयाँ बर्ष नेपाल सम्बत ११४४ को शुभकामना आदानप्रदान कार्यक्रम
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा रहेको नेवार समुदायले नयाँ बर्ष नेपाल सम्वत ११४४ को शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
नेवाः देय् दबु कावासोतीको आयोजनामा भएको कार्यक्रम कावासोतीको त्रिभुवनटारमा भएको थियो । कार्यक्रममा संविधान सभा सदस्य जीवन श्रेष्ठ र गण्डकी प्रदेश सभा सदस्य पद्मा जिसी श्रेष्ठले नेपाल सम्वत नेपालको मौलिक सम्वत भएकोले यसलाई चलनचल्तीमा ल्याउनु पर्नेमा जोड दिएका थिए ।
नेवाः देय् दबु कावासोतीका अध्यक्ष अमृत कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेवाः देय् दबु नवलपुरका सचिव एवम् नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रृेष्ठले नेपाल सम्वत्को बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा कावासोतीमा नेपाल सम्वतको अवसरमा र्यालीका शुरुवात गराउने नेवाः देय दबू नवलपरासीका संस्थापक अध्यक्ष रामचन्द्र श्रेष्ठ र साना किसान सहकारीको अध्यक्षमा भरखर निर्वाचित भएका मित्रलाल श्रेष्ठलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन नेवाः देय् दबू कावासोतीका कोषाध्यक्ष रामकुमार श्रेष्ठले सञ्चालन गरेका थिए ।
कार्यक्रम पछि त्रिभुवनटारबाट, गोछडा, शेरगञ्ज, मगरकोट, जनकल्याण मावि, थाना चोक, विष्णुनगर, विपी चोक, थकाली चोक (दुर्गा चोक), नमुना सदरमुकाम स्थल हुँदै डण्डाबाट त्रिभुवनटारसम्म मोटरसाइकल र्याली समेत गरिएको थियो ।
नेपाल सरकारले यसैबर्षदेखि नेपाल सम्वतलाई सरकारी कागजातमा उल्लेख गर्नु पर्ने प्रावधान राखेको छ ।