दुःख पर्दा सहयोग गर्यौ अहिले मिटरब्याजी भनेर आरोप लगाए
नवलपुर, २० मंसिर । नवलपुरका मिटर ब्याजी पीडक भनिएर चिनिएका माया भण्डारी लगायतले आफूहरुलाई झुटो आरोप लगाएको दावी गरेका छन् । आज कावासोतीमा पत्रकार सम्मेलन गरी उनीहरुले यस्तो दावी गरेका हुन् ।
माया भण्डारीले भने – हामीसँग गाह्रो साह्रो पर्दा सापट लगे ऋण लगे खर्चपर्च चलाउन सहयोग गर्यौं अहिले मिटरब्याजी पीडक भनेर हामीलाई अपराधि सावित गर्न खोजियो । हामी अपराधी होइनौं ।’ उनीहरुले आफू दोषी ठहरिए कानुन बमोजिम सजाय भोग्न तयार रहेको समेत बताएका छन् ।
उनीहरुले आर्थिक कारोबार र अनुचित लेनदेनको आरोप लागेका नवलपुरका आरोपितहरुले मिटर ब्याजीको झुटो आरोप लगाएर आफुहरुको चरित्र हत्या गर्न खोजिएको भन्दै यथार्थ छानवीनको माग गरेका छन् । माया भण्डारीले सञ्चार माध्यमले वास्तविक विषय गहिराइमा नपुगी समाचार लेख्दा आफूहरुको चरित्र हत्या भएको समेत आरोप लगाइन् ।
कावासोती २ की बिमला तिवारी मल्लले सापटी लिएको रकम माग्दा उल्टै मिटर ब्याजी भनेर बदनाम गराईने भन्दै आफुहरुले गाउंघरमा चिनजानेका साथीलाई दुःखमा सहयोग गरेको तर रकम लिनेले नै सापटी लिएर मिटर ब्याजमा रकम लगाउने गरेको आरोप लगाईन् ।
कावासोती कै कुमार रोक्काले आफुले नै काम सिकाएर सहयोग गरेको ब्यक्ति नै अहिले आफु विरुद्ध लागेर मिटर ब्याजीको नाममा बदनाम गर्न खोजेको बताए । आफैले लगानी गरेर व्यवसायमा स्थापित गर्न खोज्दा दिएको रकमको आफुसंग प्रमाण भएपनि रकम माग गर्दा आफु विरुद्ध नै लागेको बताए ।
पछिल्लो समय नवलपुरमा मिटर ब्याज पीडित र मिटर ब्याजको आरोप लागेका ब्यक्तिहरुको उजु प्रशासन र प्रहरीमा भएपनि निकास पाउन सकेको छैन् । आफुलाई पीडित भन्नेहरुले घरबार विहिन बनेको गुनासो गर्दै आएका छन् भने , रकम समपटी दिएका ब्यक्तिहरुले आफुले अप्ठ्यारोमा पर्दा सहयोग गरेबापत मिटर ब्याजीकोरुपमा चरित्रहत्याको शिकार हुनु परेको जिकिर गर्दै आएका छन् ।
नवलपुरमा जिल्ला प्रशासन कार्यालयमै केही पीडितहरुले उजुरी दिए पनि उक्त विषयमा छलफल भएर टुंगोमा पुग्ने सकेको छैन । पीडित पक्षले आफूहरुले पैसा तिरेको सबै प्रमाण नराख्दा पीडित हुँ भनेर सावित गर्न गाह्रो भएको बताउने गरेका छन् ।
यसैबीच रास्वपा नवलपुर निर्वाचन क्षेत्र नं. १ का उपसभापति माया भण्डारी माथि लागेको आरोप अहिलेसम्म पुष्टि हुन नसकेको कारण उनी माथिको निलम्बन फुकुवा गरेको रास्वपाले जनाएको छ ।