बैतडी महिलाको हत्या, चौपायासमेत त्रसित
बैतडी । मंगलबार दिउँसोको समय थियो । सुर्नया गाउँपालिका–०३का २९ बर्षीय तेज बहादुर चन्द आक्रामक शैलीमा हरिना बिष्टको घरमा पुग्छन् ।
घरायसी काममा व्यस्त रहेकी ५६ बर्षीय बिष्ट नाबालक नातीनातिनालाई ‘भाग भाग..’ भन्दै आफु घरभित्र पसेर ढोका थुनिन् । हातमा सब्बल बोकेका चन्दले घरको ढोका फुटाएपछि सब्बलले बिष्टको टाउकोमा बजारे । बेहोस अवस्थाकी बिष्टलाई घरभित्र रहेका फलामका भाडाकुडाँले क्षतविक्षत पारेर मारे ।
महिलाको हत्या गरिसकेका चन्द एकैछिनपछी पशुचौपाया प्रति आक्रामक बने । उनले दुई बाख्रा मार्नुका साथै आगनमा बाँधिएका सबै पसुचौपायालाई सब्बल, ढुंगा र फलामका भाडाकुडाँले मरणासन्य हुनेगरि हिर्काए । किलो उखेरेर जंगल भागेका पशुचौपाया २० घण्टा सम्म पनि घर फर्केका छैनन् ।
घटनाको समयमा मृतक हरिनाका श्रीमान गोठाला गएका थिए भने बुहारी मेलापात गएकी थिइन । जेठी नातिनी शुसिला विद्यालयबाट घर फर्किएकी थिइन् । उनि २ वर्षीय भाईलाई बोकेर घरको कान्लामा लुक्न सफल भईन् ।
मानसिक सन्तुलन गुमाएका चन्दले क्षतविक्षत अवस्थामा पारेको महिलाको शव ढोकामा लछारेर बाख्रा समेत मारी पशुचौपालाई घाइते बनाएपछि घरनै रगताम्य भइसकको थियो ।
अझै चन्द त्यतीकैमा रोकिएनन् । छिमेकी पदम बिष्टको गोरुको टाउकोमा समेत सब्बल बजारे र भैसीलाई समेत सब्बलले हानिरहे ।
उक्त घटना भएको केही सममयसम्म स्थानीय समेत गाउँ नै छाडेर भागेका थिए । हतियार सहित प्रहरी घटनास्थलमा पुगेपछि स्थानीयहरु घटनास्थलमा जम्मा भएका थिए ।
केही वर्ष पहिला मानसिक सन्तुलन गुमाएका चन्द केहिलेकाही औषधीको प्रयोगले ठिक हुने गरेका थिए । केही समय भारतमा समेत बसेका चन्द एक हप्तापहिले देखि आक्रामक व्यवहार देखाउने गरेका थिए ।
मंगलबार भने आक्रामक व्यवहारले सिमा नाघेपछि हरिनाको बीभत्स हत्या गरे भने गाउँ नै एक सयम त्रसित बनाईदिएका छन् । गाउँमै बीभत्स घटना भएपनि गाउँ शोकमा डुबेको स्थानिय शिक्षक भुवन भट्ट बताउछन् ।
स्थानीयहरुका अनुसार मानसिक सन्तुलन ठिक नभएका चन्दले २ वर्ष पहिले एक भैँसी र एक गाईलाई समेत मारेका थिए ।