मध्यविन्दु नगरपालिकामा स्थानीय वन ऐन बनाउने विषयमा सरोकारवालासँग छलफल

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा स्थानीय वन ऐन बनाउने विषयमा सरोकारवालाहरुबीच छलफल भएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको आयोजनामा आज सामुदायिक वनका उपभोक्ता महासंघका पदाधिकारी, स्थानीय सामुदायिक वन उपभोक्ता महासंघ, सामुदायिक वनका पदाधिकारी, आदिवासी जनजाति महासंघका प्रतिनिधि, नगरपालिकाका नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्षहरु लगायतबीच छलफल भएको हो ।
कार्यक्रममा बोल्दै मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले आफूहरुले वन ऐन बनाउने तयारी गरिरहेको बताउँदै छलफलमा आएका सुझावहरुलाई वन ऐनमा समेटेर लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले वन संरक्षण गर्न लगाएर मात्र वन संरक्षण नहुने बताउँदै वन संरक्षणसँगै उपयोग र उपभोगमा पनि उपभोक्ताको उत्तिकै अधिकार हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले स्थानीय वन ऐन बनाउन नगरपालिकाले वन ऐन बनेका नगरपालिकाहरुको ऐन अध्ययन गरिरहेको र छिट्टै वन ऐन नगरसभामा लैजाने बताए ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका निवर्तमान अध्यक्ष ठाकुर पाण्डेले स्थानीय वन ऐन किन आवश्यक छ भन्ने विषयमा सहजीकरण गरेका थिए ।
मना भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सुशिल पौडेलले गरेका थिए भने स्वागत मन्तव्य प्रकाश ढकालले राखेका थिए ।
