मन्त्री प्रकाश ज्वालाकाे गाडीमा आगो लगाए, पाँच जना पक्राउ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ।
आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।
उनले भने, ‘आन्दोलित युवाको समूहले गाडीमा आगजनी गरेको हो। हामीले पाँचजना पक्राउ गरेका छौँ। मन्त्रीज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्याएको छ।’ ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाले बिहानदेखि आन्दोलन गरिरहेका थिए।
बालकुमारी क्षेत्रमा आगजनी भएको गाडी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको भएको खुलेको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई दिएर युवाहरूले बालकुमारीमा प्रदर्शन गरेका थिए । त्यसक्रममा उनीहरुले मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।
एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका ज्वाला मन्त्री क्वाटरबाट पार्टीको केन्द्रीय समिति बैठक जान हिँडेका थिए । बालकुमारी क्षेत्रमा प्रदर्शनकारीले रोके । गाडीमा उनीसँगै दुई जना निजी सुरक्षा अधिकृत थिए ।
तर प्रदर्शनकारीहरुले गाडीलाई घेरा हालेपछि उनीहरु गाडीबाट बाहिर निस्किएका थिए । मन्त्री र पीएसओ गाडीबाट निस्किएपछि प्रदर्शनकारीहरुले आगजनी गरे । ‘सुरक्षाकर्मीहरुलाई ढुंगा हानेर लखेटे, अनि गाडीमा आगजनी गरे’ मन्त्री ज्वालाले भने ।