कावासोतीमा ५ दिने खिचरी उत्सव हुने, यस्तो छ उत्सवको प्रमुख आकर्षक




रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा थारु समुदायका महानपर्व माघी अर्थात खिचरीको अवसरमा ५ दिने खिचरी उत्सव हुने भएको छ । महोत्सव पुस २७ गतेदेखि माघ २ गतेसम्म गरी ५ दिनसम्म कावासोती १० को चिलाहा, रतवलमा हुने भएको छ ।

पाँचौं नवलपुर खिचरी उत्सव एवम् फुडफेस्टीवल २०८० को बारेमा आज नवलपुर थारु समुदायिक होम स्टे कावासोती १० मा आयोजना गरिएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार खिचरी उत्सवमा थारु समुदायको खिचरी पर्वसँग सम्बन्धित स्टलका साथै १० वटा खाना सम्बन्धि स्टल, ५ दिन लगातार स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति, जंगल सफारी, टाइगर ट्रेल पदयात्रा, डुंगा सवारी, होम स्टे बसाई लगायतका आकर्षकहरु रहने छन् । उत्सव नवलपुर पर्यटन समितिको आयोजनामा गरिन लागिएको हो ।



कावासोतीको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा टाइगर ट्रेल संचालन गरिने छ । टाइगर ट्रेल पदयात्रा गर्न चाहने पर्यटकहरुका लागि निशुल्क उपलब्ध गराइने छ । त्यसैगरी उत्सव अवधिभर होम स्टेमा प्रतिव्यक्ति ७ सय ५० रुपैयाँमा होम स्टे बसाई प्याकेज, दुई सय रुपैयाँमा डुंगा सफारी र प्रतिव्यक्ति ७ सय रुपैयाँमा जंगल सवारीको व्यवस्था गरिएको स्थानीय पर्यटन व्यवसायी धनीराम गुरौले भने।

नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकासका लागि उत्सव आयोजना गर्न लागिएको जानकारी गराए। अघिल्ला वर्षहरूमा स्थानीय जन्मभूमि युवा क्लबले यस्तो उत्सव संचालन गर्दै आएकोमा यस बर्षदेखि नवलपुर पर्यटन समितिले उत्सवको आयोजना गर्न लागेको हो ।

यस पटक स्थानीय खाना खिचरी, चिचर बाहेक नारायणी नदीको डल्फिन,पाटे बाघ,एकसिङे गैडा, ६ सय भन्दा बढि प्रजातिका चराचुरुङ्गी, बोटिङ, टाइगर ट्रेल र स्थानीय नाचगानको अवलोकनले उत्सवलाई उल्लासमय बनाउने आयोजकले जनाएको छ ।

हरेक दिन दिउँसो ३ बजेदेखि बेलुका ८ बजेसम्म संचालन हुने खिचरी उत्सव अवलोकन गर्न कुनै शुल्क नलाग्ने आयोजकले जानकारी गराएको छ। त्यसबाहेकका अन्य प्याकेजमा सुपथ शुल्क लान्ने छ। आयोजकले यो उत्सवबाट १५ लाख आम्दानी हुने र ११ लाख ५० हजार खर्चहुने अनुमान गरेको छ।
पत्रकार सम्मेलनमा स्थानीय समाजसेवी, जनप्रतिनिधि, मध्यवर्ती उपभोक्ता समितिका प्रतिनिधि लगायतले उत्सवको सफलताको शुभकामना राखेका थिए ।



सम्बन्धित
Loading...