नवलपुरमा गर्भवती महिलाको श्रीमानद्वारा हत्या, श्रीमान पक्राउ, सपनामा प्रतिकार गर्दा हत्या भयोः श्रीमान्

रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ६ विरुखर्कमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
गएराति १ बजेको समयमा ३३ बर्षीय श्रीमान शेरबहादुर लम्का मगरले आफ्नै श्रीमती ३४ बर्षीया चनिसरा लम्का मगरलाई सुतिरहेकै अवस्थामा कोदालो र खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।
विभत्स तरिकाले हत्या गरेको भेटिएको छ । मृतक महिला केही दिन पछि सुत्केरी हुने समय अस्पतालले दिएका थिए ।
४ छोरी र श्रीमान श्रीमती एकै स्थानमा सुतिरहेको अवस्थामा श्रीमतीको हत्या भएको देखिएको प्रहरी नायव उपरीक्षक पौडेलले बताए । प्रहरीले घटनामा प्रयोग गरिएको कोदालो र खुर्पा सहित श्रीमान शेरबहादुर लम्का मगरलाई पक्राउ गरेको छ ।
विहान छोरीहरु उठेपछि घटना बारे स्थानीयले खबर पाएका थिए । श्रीमान शेरबहादुर लम्का मगरले आफूले सपनामा श्रीमती र आफूलाई कसैले आक्रमण गरेको सपना देखेको र सपनामै बचाउँन खोज्दो यस्तो घटना भएको प्रारम्भिक वयान दिएको प्रहरीले जनाएको छ ।
शेरबहादुर लम्का मगर घटना भएपछि आत्महत्याको लागि नजिकैको खोलातर्फ गए पनि पुन घरै फर्केर बसेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । श्रीमान शेरबहादुर लम्का मगरको टाउकोमा पनि सामान्य चोट लागेको छ ।
अहिले प्रहरीले घटना स्थलमा मुचुल्का तयार पारी मृतक र मृतकका श्रीमानलाई जिल्ला प्रहरी कार्यालय नवलपुरमा ल्याउने तयारी गरिरहेको छ ।
प्रहरी नायव उपरीक्षक पौडेलले श्रीमानलाई सामान्य मानसिक समस्या देखिएको हुन सक्ने आशंका गरेका छन् ।
