मानव बेचविखन तथा ओसारपसार आरोपमा ३ जना पक्राउ

रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले मानव वेचविखन तथा ओसारपसार सम्बन्धि कसुरमा ३ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रमेश बोहराका अनुसार नेपाल भारत सीमा दशगजा नजिकै पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ५ चमनटोलाबाट २ जना भारतीय सहित १ जना नेपाली नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नवलपरासीको रामग्राम नगरपालिका २ हाटबजार टोल बस्ने २१ बर्षीय कलिम मियाँ, भारतको देवरिया जिल्लाा बरहजवा थाना करजहा बस्ने २६ बर्षीय अरुण मल र भारतकै महाराजगंज थाना कोतवाली ग्राम दुबौली टोला छोटी पकडी नौनिया बस्ने २८ बर्षीया शैलेश बर्मालाई पक्राउ गरेको हो ।
सीमा क्षेत्रमा कलिम मियाँले २ जना किसोरीलाई भारतीय नागरिक अरुण मल र शैलेश बर्माको जिम्मा लगाइरहेको अवस्थामा प्रहरीले शंका लागि शोछपुछ गर्ने क्रममा पक्राउ गरेको हो । प्रहरीले सोधपुछ गर्ने क्रममा ति २ किशोरीहरुले आफूहरुलाई ललाइफकाई प्रलोभनमा पारेर भारतको गोरखपुरतर्फ लैजान लागेको जनाएका थिए ।
उनीहरुको साथबाट लु १८ प ५२६९ नम्बरको मोटरसाइकल र युपी ५३ डिबी ४८३२ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत परासीबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाएको प्रहरी नायव उपरीक्षक रमेश बोहराले बताए ।