नवलपुरमा ४० जना कुष्ठरोगी, पश्चिम नवलपरासीमा थप १८ जना


नवलपुरमा हालसम्म ४० जना कुष्ठरोगी फेला परेका छन् । जसमध्ये पुरुष ३१ र महिला ९ जना छन् । चालु आर्थिक वर्षमा १६ जना नयाँ बिरामी फेला परेका हुन् ।



८ जनालाई भने निको भएको छ ।

सबैभन्दा धेरै गैँडाकोटमा १६ जना भेटिएका हुन् । स्वास्थ्य कार्यालय नवलपुरका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जानकारी दिनुभयो ।




यता नवलपरासीमा थप १८ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन्। स्वास्थ्य कार्यालय नवलपरासीले जिल्लाका पालिकामा साउनदेखि हालसम्म गरेको खोजपडतालका क्रममा १ बालकसहित १८ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेको कार्यालयका तथ्यांक अधिकृत बजरंगी चौधरीले जानकारी दिए।

गत आर्थिक वर्षमा ७० जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका थिए। जसमा ८ जना बालबालिका थिए। कुष्ठरोगका बिरामीमध्ये १२ जना औषधि सेवन गरेपश्चात निको भएका छन्। बाँकी ५८ जना उपचारमा रहेको तथ्यांक अधिकृत चौधरीले बताए।

अहिले नयाँ फेला परेका कुष्ठरोगका बिरामीमा सबैभन्दा बढी सुनवल नगरपालिकामा ५ जना फेला परेका हुन्। त्यहाँ एक बालकमा समेत कुष्ठरोग देखा परेको तथ्यांक अधिकृत चौधरीले जानकारी दिए। त्यस्तै सरावल गाउँपालिकामा ४ जना फेला परेका छन्। प्रतापपुर, पाल्हीनन्दन र सुस्ता गाउँपालिकामा ३-३ जना कृष्ठरोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्लामा ७ पालिका छन्। रामग्राम र बर्दघाट नगरपालिकामा भने हालः कुष्ठरोगका बिरामी फेला परेका छैनन्। कुष्ठरोग देखा परेका बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्थामा पठाएको र उनीहरूले औषधि सेवन गरिरहेको तथ्यांक अधिकृत चौधरीले जानकारी दिए। कार्यालयले कुष्ठरोगका बिरामी पत्ता लगाउन सुरु गरेको खोजपडताल अभियानसँगै बिरामीको संख्या पनि बढ्दै गएको देखिएको हो। पछिल्लो पटक विद्यालयमा पुगेर खोजपडताल कार्यलाई तिव्रता दिइएको स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले जानकारी दिए। कुष्ठरोग प्रकोपको आधारमा देशमै नवलपरासी जिल्ला तेस्रो हो। पहिलो कपिलवस्तु र दोस्रो कैलाली रहेको छ।

चिकित्सकहरूका अनुसार कुष्ठरोगले छालामा असर गर्दा पनि शरीरमा नचिलाउने, छुँदा थाहा नहुने दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरू देखा पर्ने र बिस्तारै मांसपेशी कमजोर बनाइदिने गर्छ। कुष्ठरोगको समयमै उपचार हुन नसके बिरामीहरू अपांग हुने र ज्यानसमेत जाने जोखिम भएकाले शंका लागेमा तत्कालै परीक्षण गराउन चिकित्सकहरूले सुझाव दिएका छन्।

कुष्ठरोग मानव जातीमा हजारौँ वर्ष पहिलेदेखि देखापरेको संक्रमण हो । यो रोगको अंग्र्रेजी नाम ल्याटिन शब्द ‘लेप्रो’ को विकसित रुप हो । त्यही भएर यसलाई ‘ल्याप्रोसी’ भनिन्छ ।

पछिल्ला दिनमा कुष्ठ रोगीहरु प्रति हुने गरेको भेदभावमा कमी आए पनि यस्तो भेदभाव पूर्ण रुपमा अन्त्य हुन सकेको छैन । तर जनचेतनाकै विस्तारसँगै मानिसहरुमा विद्यमान त्यस्तो धारणा भने हट्दै जान थालेको पाइन्छ । त्यहीकारण कुष्ठरोगसम्बन्धी चेतनामूलक कार्यक्रमलाई अझ बढी प्राथमिकता सञ्चालन गर्ने सरकारी नीति पनि छ ।



सम्बन्धित
Loading...