नवलपुरमा ६ महिनामा मादक पदार्थ सेवन गरी सवारी चलाउने २३२३ जना चालक कारवाहीमा

रामकुमार श्रेष्ठ —
नवलपुर । पूर्वी नवलपरासीमा पछिल्लो ६ महिनामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने २ हजार ३ सय २३ जना चालक कारवाहीमा परेको छन् ।
जिल्ला ट्राफिक कार्यालय नवलपुरले गरेको मापसे चेकिङ्गको क्रममा गत साउनदेखि पुसमसान्तसम्म २ हजार ३ सय २३ जना मापसे गरी सवारी चलाउने चालक कारवाहीमा परेका हुन् ।
यस्ता चालकलाई मापसेको कक्षा लिएर १ हजार राजश्व जम्मा गरेर मात्र छाड्ने गरिएको प्रहरी निरीक्षक अच्युतराज आचार्यले बताए ।
उनका अनुसार साउन महिनामा २ सय ४३ जना, भदौ महिनामा २ सय ७३ जना, असोज महिनामा ४ सय २२ जना, कात्तिक महिनामा ३ सय ७० जना, मंसिर महिनामा ४ सय ८९ जना र पुस महिनामा ५ सय २६ जना चालक मापसे कारवाहीमा परेका छन् ।
सबैभन्दा बढी मोटरसाइकल चालक मापसेमा परेका छन् । गत बर्ष यही ६ महिनाको अवधिमा नवलपुरमा जम्मा ७६ जना चालक मापसे कारवाहीमा परेका थिए ।
मासपे कारवाहीमा परेका चालकहरुबाट पछिल्लो ६ महिनामा राजश्व मात्रै २४ लाख ३० हजार संकलन भएको जिल्ला ट्राफिक कार्यालय कावासोती नवलपुरका प्रहरी निरीक्षक अच्युतराज आचार्यले बताए ।