विषाक्त आहारले नवलपुरमा फेरि ५ वटा गिद्ध मरे

रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा सोमबार ५ वटा लोपउन्मुख गिद्ध मृत फेला परेको छ ।
कावासोती–११ को लोकाहा खोला किनारमा ५ वटा गिद्ध मृत फेला परेको हो ।
४ वटा डङ्गर प्रजाती र १ वटा हिमाली प्रजातीको गिद्ध मृत फेला परेको छ भने १ वटा सुन गिद्ध र ६ वटा डंङ्गर प्रजातीको गिद्ध बिरामी अवस्थामा फेला परेको जटायु रेष्टुरेन्टका अध्यक्ष डिबी चौधरीले बताए ।
बिरामी मध्ये १ वटा डङ्गर गिद्धको अवस्था गम्भीर रहेको छ । मरेको स्यालको सिनो खाएर गिद्ध मरेका हुन । गिद्ध मरेको स्थानमा २ वटा मरेको स्यालको सिनो समेत फेला परेको चौधरीले बताए ।
विषादीयुक्त खाना खाएर मरेको स्यालको सिनो खाएर गिद्ध मरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जटायु रेष्टुरेन्टका अध्यक्ष डिबि चौधरीले बताए ।
लोकाहा खोला किनारमा गिद्ध मृत देखे पछि स्थानीयले जटायु रेष्टुरेन्टमा खबर गरेका थिए । मरेका गिद्धको मंगलबार पोस्टमार्टम गरिने तथा बिरामी गिद्धलाई घटनास्थलमा प्राथमिक उपचार पछि जटायु रेष्टुरेन्ट लगेर उपचार गरिने अध्यक्ष चौधरीले बताए ।
यस अघि पनि नवलपुरको कावासोती ३ को केरुङ्गे खोला आसपासको क्षेत्रमा विशाक्त आहार करिब ११ महिना अघि खाएर १७ वटा गिद्ध मरेको थियो ।
जंगली जनवार स्याल, भुस्याहा कुकुर आदि मार्न स्थानीयले विषादी प्रयोग गर्ने र उक्त विषादी खाएर मरेको जनवारको मासु (सिनो) खाँदा गिद्ध मर्ने क्रम बढेको छ ।