दुर्गा प्रसाइका समर्थकहरु गरे कावासोतीमा एनआइसी बैंक घेराउ
रामकुमार श्रेष्ठ
नवलपुर । एनआइसी बैंक डुब्दै छ भन्ने बजार हल्लाका बीच उद्योगी दुर्गा प्रसाइका समर्थकहरुले आज कावासोतीमा एनआइसी बैंक घेराउ गरेका छन् ।
उनीहरुले गणतन्त्र धोका हो, हिन्दु राष्ट्र कायम गर, मिटरब्याजीलाई कारवाही गर लगायतका नाराबाजी गर्दै कावासोती परिक्रमा समेत गरेका थिए ।
सोही क्रममा उनीहरुले कावासोतीमा रहेको एनआइसी बैंक घेराउ गर्दै बैंक अगाडि प्रदर्शन र नाराबाजी समेत गरेका थिए । उनीहरुले ८ प्रतिशतमा लिएको ऋण १८ प्रतिशतसम्म ब्याज पुर्याएको, २ महिना किस्ता तिर्न नपाउँदा धितो लिलाम गरेको जस्ता आरोप बैंकलाई लगाएका छन् ।
उनीहरुले प्रदर्शनका क्रममा ऋण तिर्ने वातावरण नबनेसम्म अबदेखि किस्ता नतिर्न सबै ऋणीलाई आग्रह समेत गरेका थिए । दुर्गा प्रसाइले एनआइसी बैंक डुब्दै छ सबैले बैंकमा भएको आफ्नो पैसा झिक्नु भने पछि बैंकमा अहिले आफ्नो बचत रकम झिक्न जानेको लर्को नै लाग्न थालेको छ ।
नेपालमा कतिपय ठूला सहकारीहरु डुबेका कारण बैंक पनि डुब्न सक्ने त्रास आम जनमानसमा परेको छ ।