चितवनमा गैंडा मृत फेला

चितवन, फागुन १३-
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिंगे गैँडा मृत फेला गरेको छ ।
भरतपुर महानगरपालिका-१३मा रहेको बेल्सर मध्यवर्ती सामुदायिक वन क्षेत्र भित्रको राप्ति नदी स्थित जर्नेली घाटमा आज (आइतबार) गैँडा मृत फेला परेको हो ।
मृत अवस्थामा फेला परेको गैँडाको खाग खुर भने सुरक्षित रहेको निकुञ्जले जनाएको छ । सो मृत भाले गैँडा अन्दाजी १२ वर्ष उमेरको रहेको जनाइएको छ।
आपसमा जुधेर गैँडाको मृत्यु भएको हुनसक्ने निकुञ्ज प्रशासनको भनाइ छ।
यो पनि … …
पुरिएको अवस्थामा फेला पर्यो पाटे बाघ

नवलपुर, फागुन १२ गते । खाल्डो खनेर जङ्गलमा गाडेको अवस्थामा वयस्क पाटे बाघ भेटिएको छ । मध्यबिन्दु नगरपालिका –१५ को नवदुर्गा सामुदायिक वनमा वयस्क पाटे बाघ मारेर गाडेको अवस्थामा फेला परेको हो ।
एक हप्ताको अवधिमा दोस्रो पटक बाघ मारिएको हो । १० दिनअघि पनि मध्यबिन्दुकै १० नम्बर वडामा पनि वयस्क बाघ मरेको अवस्थामा भेटिएको थियो । पोष्टमार्टम नगरी गाडिएको बाघलाई अर्को दिन खाल्डोबाट झिकेर पोष्टमार्टम गरिएको थियो ।
त्यसको पोष्टमार्टमको रिपोर्ट अझै आइसकेको छैन । आज गाडिएको अवस्थामा भेटिएको भाले बाघको लम्बाइ १०४ इन्च र मोटाइ ४० इन्च रहेको चोरमारा रेन्जपोष्टका सबडिभिजन अधिकृत दुर्गादत्त कँडेलले जानकारी दिनुभयो । सो बाघको भोलि पोष्टमार्टम गरिने उहाले जानकारी दिनुभयो । बाघको देब्रे खुट्टाको माथिल्लो भाग काटिएको अवस्थामा रहेको कँडेलले बताउनुभयो । नवदुर्गाको वनमा खाल्डो खनेर गाडिएको अवस्थामा रहेको बाघ गन्हाएपछि वन हेरालु दुर्गाबहादुर कुमालले देखेर अन्य हेरालुलाई खवर गरेको बताउनुभयो ।
स्थानीय हरियाली सामुदायिक वनका उपाध्यक्ष धनकान्ति कँडेलले बिजुलीको पासो थापेर मारेको हुनसक्ने बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय, प्रहरी, नेपाली सेना र सामुदायिक वनको रोहवरमा बाघको मुचुल्का उठाइएको छ । चितवन राष्ट्रिय निकुञ्जका अनुसार यसअघि अरुङखोलामा मरेको र आज मरेको बाघको प्रकृति एउटै छ ।
बाघलाई ८–१० दिन अघि नै मारिएको हुनसक्ने डिभिजन वन कार्यालयले जनाएको छ । हाल देशभर ३५५ रोयल बेङ्लोर टाइगर (पाटे बाघ) रहेको पश्चिम सेक्टर अमलटारी रेञ्ज पोष्टका अधिकृत विष्णु पौडेलले बताउनुभयो ।