मन्त्रिपरिषद् पुनर्गठन, तीन मन्त्रिद्वारा सपथ ग्रहण, देउवाद्वारा बहिष्कार

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ गठबन्धन बनाउँदै मन्त्रिपरिषद् १३औं पटक पुनर्गठन गरेका छन् ।
उनले आज नेपाली कांग्रेसका मन्त्रीहरुलाई हटाउँदै नयाँ सत्ता ‘पार्टनर’ भित्र्याउँदै मन्त्रिपरिषद्मा फेरबदल गरेका छन् । नयाँ गठबन्धनमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपाल भित्रिएका छन् ।
पुनर्गठित मन्त्रिपरिषद्मा एमालेबाट पदम गिरी, माओवादीका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डोलप्रसाद अर्याल (डीपी) सहभागी भएका छन् ।
उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नै शीतलनिवासमा आयोजित समारोहमा सपथ गराएका छन् ।
मन्त्रीहरूको शपथ ग्रहण देउवाद्वारा बहिष्कार
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरूको शपथ ग्रहण बहिष्कार गरेका छन् ।
सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहणमा सभापति देउवा अनुपस्थित भएका हुन् ।
पूर्वप्रधानमन्त्रीको हैसियतमा देउवाले शपथ ग्रहणमा जानुपर्ने भएपनि उनी अनुपस्थित देखिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि देउवा रुष्ट छन् ।