राष्ट्रिय सभा अध्यक्षमा माओवादीले नारायण दाहाल र काँग्रेसले युवराज शर्मा अध्यक्षका उम्मेदवार बनाउने




नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार उठाउने भएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार उठाउने निर्णय गरेको अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए।

दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ समेत हुन्।




उनी राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सांसद हुन्। नारायण दाहाल ०७८ मा राष्ट्रिय सभा सदस्य मनोनित भएका थिए। राष्ट्रिय सभाको अध्यक्षमा दाहालसँगै अहिले उपाध्यक्ष रहेकी उर्मिला अर्याल र झक्कु सुवेदी आकांक्षी थिए।

कांग्रेसबाट युवराज शर्मा राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी २९ गते हुने राष्ट्रियसभा अध्यक्ष पदको उम्मेदवार चयन गरेको छ।

आइतबार बसेको संसदीय दल कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित बाँकेका युवराज शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।

शर्मा २०७८ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए। शर्मालाई त्यसबेला कांग्रेसले लामो समयपछि न्याय दिएको थियो। शर्मा यसअघि २०४५ देखि २०४९ सम्म बाँके कांग्रेस सभापति भएका थिए।

पञ्चायतविरोधी आन्दोलनमा होमिएका उनी २०२४ सालमा पहिलोपटक जेल गएका थिए। उनी त्यसपछि पटक पटक जेल परे।

कांग्रेसले यसअघि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने कुरा आएको थियो। तर नेकपा माओवादी केन्द्रले गठबन्धन बदलेसँगै शर्मा अध्यक्षका उम्मेदवार भएका हुन्।



सम्बन्धित
Loading...