नक्कली सुन धितो राखेर बैंकबाट ४ करोड ऋण!




नेपालमा बैंकका कर्मचारीहरुले कतिसम्म लापरवाही गर्छन् भन्ने उदाहरण यही घटनाबाट प्रष्ट हुन्छ । कुनै सेवाग्राहीले बैंकमा नक्कली सुन धितो राखेर ४ करोड ऋण लिएर झ्वाम पारेको घटना बाहिर आएको छ ।

प्रहरीले नक्कली सुन राखेर ४ करोड ऋण लिएर फरार भएकालाई पक्राउ गरेपछि यो घटना बाहिर आएको हो ।



बैंकमा धितो राख्दा जग्गा होस वा सुन सबै चेक जाँच गरेर मात्र धितो स्वीकार गर्ने गरिन्छ । तर यहाँ भने त्यसो भएको पाइएको छैन । प्रहरीले नक्कली सुन धितो राख्नेलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

नक्कली सुन धितो राखेर बैंकबाट चार करोड ऋण लिइ नतिरी फरार भएका सप्तरीको कञ्चनरूप नगरपालिका–८ घर भई काठमाडौंको बौद्ध बस्ने ४१ वर्षीय टोकनाथ साहलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्धस्थित हायात होटलबाट पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार साहले नक्कली सुन धितो राखेर नेपाल बैंक लिमिटेडबाट ४ करोड १४ लाख ८४ हजार रूपैयाँ ऋण लिएका थिए।

ऋण लिएर फरार भएपछि उच्च अदालत विराटनगरले उनीविरुद्ध ९८ लाख ८५ हजार ५६४ रूपैयाँ बिगो र तीन वर्ष कैद फैसला सुनाएको थियो। उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाइएको एसपी रेग्मीले जानकारी दिए।

एसपी रेग्मीका अनुसार साहले अमेरिका लैजान्छु भनेर युवायुवतीलाई ठगी गर्ने गरेको पनि पाइएको छ।

रवाफपूर्ण जीवनशैली देखाउने, अमेरिकाको सबै ठाउँ घुमेको बताउने र कोटा थोरै भएकाले पहिले जो आउँछ त्यसलाई अमेरिका लैजाने भन्दै कैयौंबाट रकम ठगेको अनुसन्धानबाट खुलेको छ।

उनले विभिन्न कम्पनीका १५ थान सिम प्रयोग गर्ने गरेको पनि एसपी रेग्मीले जानकारी दिए।



सम्बन्धित
Loading...