आँगनका गैंडा स्थानान्तरण हुँदा नवलपुरका संरक्षणकर्मी र पर्यटन व्यवसायी निरास

नवलपुर । पाहुनालाई जत्तिकै मायाँ गरेका गैंडा आफ्नै आँगनबाट स्थानान्तरण हुने कुराले नवलपुरका पर्यटन व्यवसायीलाई निराश पारेको छ । गाउँमा बालीनाली खाने मानिसमाथि आक्रमण गर्ने गरेका कारण गैडा स्थानान्तरणको खबरप्रति स्थानीय भने मौन छन् ।
बिहिबार डिभजन वनले राखेको डढेलो नियन्त्रण गोष्ठी लगतै राष्टिय निकुञ्जले पश्चिमका गैडा पूर्व चितवन लाने कुरा सुनाए पछि यो कुरो नवलपुरका पर्यटन व्यवसायीमा डढेलै झै फैलियो ।
हृदयमा चेतपसेदेखि गैंडालाई मायाँ गरेर जीवन पर्यन्त यसको रेखदेखमा रहने कसम खाएकाहरूलाई यो विषयले चसक्क घोचेको संरक्षणकर्मी डिवि चौधरी बताए ।
कतिपय सरोकारवालालाई नबोलाई स्थानीय निकाय, मध्यवर्ती, प्रशासन र एकाध वातावरणकर्मीले तालि ठोकेकै भरमा गैंडा स्थानान्तरण हुने भएको छ ।
जिल्ला होटल व्यवसायी संघका अध्यक्ष सन्तोष राना गैंडा स्थानान्तरण कार्य नवलपुरमा उठ्दै गरेको पर्यटन क्षेत्रलाई अपाङ्ग पार्ने नीति भएको बताए ।
उनले पूर्वमा गैंडाको घनत्व बढाउन स्थानान्तरण होईन, घाँसे मैदानको व्यवस्थापन गर्न सके बोकेर लैजान नपर्ने उनको भनाई रहेको छ ।
चितवन राष्ट्रिय निकुञ्जले विज्ञहरूको सुझावको सय वर्षीय हवाला दिदै नष्लीय सुधार र वासस्थानको समुचित वितरण भन्दै पश्चिम सेक्टरका करिव १० वयस्क गैंडा पूर्व लाने तयारी गरेको बुझिएको छ ।
स्थानान्तरणको पहिलो तारो निकुञ्जबाट गाउँ पसेर स्थानीयसंगको जम्काभेटमा कैयौंलाई घाईते पार्दै आएको महाराजा वनको बुढो गैंडा हुने छ । जसलाई आज विहानै टाट हानेर बेहोस गराइ स्थानान्तरण गरिने जनाइएको छ ।
स्थानीय संरक्षणकर्मीहरुले भने स्थानीय निकाय गैंडाले गाउँकालाई दिने दुःख र घाईतेको उपचार खर्च बोक्नु भन्दा, जतानामका गैंडा लगिदिए हाईसन्च ठानेर यसलाई रोक्न नचाहेको बताउँछन् ।
पछिल्लो समय निकुञ्जको पश्चिम क्षेत्र सिख्रौली, पिप्रहर, कुजौली, केउरेनी, पिठौली नमुना, कृष्णसार, गुन्द्रही ढकाहा, अमलटारी, नन्द भाउजु, सेहरी, भिउराहन तथा तमासपुर क्षेत्रमा गैंडाको बसउठ बाक्लिएको छ ।
प्रशस्त घासे मैदान, नदी, घोल, आहाल र शान्त वातावरणमा गैंडाको उपस्थिति बढेसंगै यहाँका नदी किनार र गाउँ वस्तीमा खुलेका होटल तथा पाहुना घरमा पर्यटकीय गतिविधि बढेको छ ।
नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतो चितवन राष्ट्रिय निकुञ्जको मुख्य आकर्षण भने कै पूर्वमा बाघ, पश्चिममा गैंडा र नदीमा घडियाल भएको बताए । उनले भने यहाँका गैडा स्थानान्तरण गर्ने कुरा यहाँका पर्यटन व्यवसायीलाई धरापमा पार्ने षडयन्त्र हो ।
महतोका अनुुसार वन्यजन्तुले जुन वातावरणलाई आफ्नो वासस्थान बनाएको छ त्यसलाई द्वन्द र रूपयाँ पैसाले मात्र नहेरी सोही ठाउँमा बाच्न तथा नाच्न दिनुपर्छ ।
संरक्षणकर्मी तथा चोरी सिकारी नियन्त्रण युवा जागरण अभियान्ता एवम् संस्थापक संयोजक बिष्णु अधिकारीले गैंडा स्थानान्तरण कार्यलाई बिस्तृत अध्ययन विनाको कोरा एवं हचुवा काम बताएि ।
घाँसे मैदान, पिउने पानी , टेरिटोरीको अध्ययन विना एक्सपेरिमेन्टका नाममा गैंडा स्थानान्तरण गलत हुने अधिकारीको भनाई छ ।
यसै बिषयमा कतिपयले त सौराहा सेक्टरका गैंडा र हिजोका दिनमा ईचर्नी टापुमा एकै पटक दुई दर्जन बढीको संख्यामा देखिने गैंडा कहाँ पुगे स्थानान्तरण पूर्व चितवन राष्ट्रिय निकुञ्जले जनतालाई उत्तर दिनु पर्ने भनेका छन् ।
पछिल्लो जानकारी अनुसार गैंडा स्थानान्तरणका लागि निकुञ्जका पशु चिकित्सक, सुरक्षाकर्मी, निकुञ्ज प्रशासन पदाधिकारी सहितको टोली बन्दोबस्तीका साथ पश्चिम सेक्टर नवलपुर आईपुगेको छ ।