नवलपरासीमा जन्मकैदको सजाय पाएका फरार प्रतिवादी १४ वर्षपछि पक्राउ




परासी । नवलपरासीको साबिक गुठीसूर्यपुरा गाविस-९, झुलनिपुर बस्ने ३५ वर्षीय अरविन्द्र राजभरलाई कर्तव्य गरी मारेको अभियोगमा कर्तव्य ज्यान मुद्दामा फरार ५६ वर्षीय नौमीप्रसाद राजभर १४ वर्षपछि पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापश्चिम) बाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका वडा नं-१ महेशपुर नजिकबाट पक्राउ गरी फैसला कार्यन्वयनका लागि नवलपरासी जिल्ला अदालत परासी पठाइएको प्रहरीले जनाएको छ ।




मृतक अरविन्द्र राजभरलाई भारतको महाराजगन्जस्थित ठुठिवारीमा आफन्तको घडेरी जग्गा किनाइदिने भनि २०६६।०६।११ गते बेलुकी नौमी राजभरले भारु ४ लाख बुझी लिइ गाउँ घुम्न जाऊँ भनि घरबाट सँगै निस्केको तर उक्त दिन अरविन्द्र राजभर घर फर्केनन् ।

सो दिन मृतक अरविन्द्र राजभर, नौमीप्रसाद राजभर, रामचन्द्र राजभर र मरिकान्त धरिकारसमेत चार जना भई गाउँमै रहेको होटलमा गई रक्सी खाई निस्केको र २०६६।०६।२३ गते साबिक गुठीसूर्यपुरा-५ स्थित रहेको पावर हाउसको रेडियल गेटमा निजको लास फेला परेको थियो ।

अनुसन्धानका क्रममा प्रतिवादीहरुकै मिलेमतोमा मृतक अरविन्द्र राजभरलाई रक्सीमा विषादी मिलाई खुलाएको र बाटोमा ढलेपछि तीन जना मिलि भारतीय गण्डक नहरमा फाली मृतकको साथमा रहेको पैसा बाँड्ने सहमति भएको भन्ने अर्का प्रतिवादी रामचन्द्र राजभरबाट खुल्न आएको र सोही व्यहोराको किटानी जाहेरी पर्न आएको प्रहरीले जनाएको छ ।

२०७५ वैशाख ५ गतेको आदेशानुसार निज प्रतिवादीहरुलाई साबिक मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (२) नम्बर बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहरी फैसला भएको थियो ।

वरदातपश्चात निज प्रतिवादी नौमीप्रसाद राजभर छिमेकी मुलुक भारततर्फ गई आफ्नो परिचय लुकाइ विक्रम सिंह (बुवाको नाम शंकर सिंह) नाममा भारतीय आधार कार्ड बनाई दिल्लीमा पेन्टिङको काम गर्दै आइरहेको र कहिलेकाहीँ मात्र आफ्नो घरमा आउने क्रममा पाल्हीनन्दन-१, महेशपुर स्थितबाट विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो ।



सम्बन्धित
Loading...