नवलपरासीमा छिमेकीलाई फसाउँन हजुरबुवा र नातीको हत्या गर्ने २ जना पक्राउ

रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीमा छिमेकीलाई फसाउन हजुरबा र नातीको हत्या गर्ने दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार पक्राउ पर्नेमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ३ मर्चहवा बस्ने २९ बर्षीय अजय धरिकार र २० बर्षीय चन्दन हरिजन रहेका छन् ।
पक्राउ परेका चन्दन हरिजनको छिमेकी गाउँलेसँग झगडा भएको र उक्त झगडा बेलाटारीमा छलफल पश्चात मिलेको भए पनि उनले मेलमिलाप पछि झगडा गरेका छिमेकीलाई नै हत्या गर्ने योजना बनाएको तर उनको हत्या गर्न नपाएपछि उनकै छिमेकीको हत्या गरेको प्रहरीले जनाएको छ ।
चन्दन हरिजनले अजय धरिकारसँग मिलेर सुस्ता गाउँपालिका ३ मर्चहवाका अक्षयलाल चमार र निजको नाती गौचरण चमारको धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए ।
उनीहरुलाई तालिम प्राप्त कुकुर, सिआइबी समेतको सहयोगमा अनुसन्धान गरी घटनाको झण्डै १ महिनापछि पश्चात अर्थात ३ चैत्र शनिबार पक्राउ गरेको प्रहरी नायव उपरीक्षक बोहराले जानकारी दिए ।
चन्दन हरिजन र अजय धरिकारले चमार हजुरबा र नातीलाई धारिलो हतियार चक्कु प्रहार गरी माघ २९ गते राति हत्या गरेका थिए । हजुरबाको हत्या गर्दा सँगै सुतेका नातीले देखेपछि घटना सार्वजनिक हुने डरले उनीहरुले नातीको पनि हत्या गरेका थिए । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलाटारी मार्फट जिल्ला अदालत परासीमा ज्यान सम्बन्धि कसुरमा मुद्दा दर्ता गरि कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।
यसरी भएको थियो घटना

१. मिति २०८०-१०-२६ गते प्रतिवादी मध्येका चन्दन हरिजन र सुस्ता गाउँपालिका वडा नं. ३ मर्चहवा बस्ने छिमेकी गाउँले सँग भएको झगडा उपर ई.प्र.का. बेलाटारीमा उजुरी परी ऐ २८ गते छलफल पश्चात मिलापत्र भएको,
२. सो झगडाको रिसईबी साँध्न चन्दन हरिजनले निजको मिल्ने साथी अजय कुमार धरिकारसँग मिली निबेदक विपक्षीसंग वदला लिने योजना बनाई सोहि दिन २८ गते भारततर्फको त्रिवेणिमेलामा गई भारु ३०० मा धारिलो हतियार चक्कु किनि ल्याएको
३. भोलिपल्ट माघ २९ गते बेलुकी अक्षय लाल चमारको घरसँगैको बालुवा गिट्टी स्टक (थुप्रो) मा गई बिपक्षीलाई कुरी बसेको
४. उक्त व्यक्ति फेला नपरेपछि नजिकै घर रहेको अक्षय लाल चमारको हत्या गरेमा घर नजिक बालुवाको थुप्रो स्वयं विपक्षीको भएकाले निज उपर शंका भई प्रहरी अनुसन्धान हुन सक्ने र सो को आरोपसंगै आफ्नो वदलाको भावना समेत पुरा हुने ठानी घटना घटाउन तयार भएको ।
५. अक्षयलाल चमारको हत्या गरेपश्चात संगै सुतेको नाती गौचरण चमारले देखेको र निजले आफुहरुलाई चिन्ने डरले निज नाति उपर समेत प्रहार भएको ।
६. घटनाको समयमा प्रतिवादी चन्दन हरिजनले लगाएको कालो हाफ पन्जा मध्ये बायाँ पन्जा घटनास्थलमै छुट्न पुगेको ।

७. घटनास्थलमा छुटेको सोही पन्जाको आधारमा प्रहरीले सुक्ष्म अनुसन्धान गर्दै जाँदा घटनाको वास्तबिकता खुल्न आएको र प्रयोग भएको चक्कु समेत अजय धरिकारको सुत्ने कोठा रहेको टिनको बाकसभित्र लुकाईराखेको अवस्थामा वरामद हुन आएको ।
८. घटनामा प्रयोग भएको पञ्जा साथिमार्फत चन्दन हरिजनले २९ गते नै कुडिया बजारको फेन्सि पसलबाट खरिद गरि मगाएको ।