शालीन आत्महत्या दुरुत्साहन मुद्धाका तीन अभियुक्त धरौटीमा रिहा




भरतपुर । रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत फेला परेकी शालीन पोखरेलको विषयमा अनुसन्धानका लागि पक्राउ परेका तीन जना शिक्षकलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले स्कुलका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र होस्टेल वार्डेन कमलप्रसाद शर्माविरुद्ध आइतवार आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता गरेको थियो ।




चितवन जिल्ला अदालतका न्यायाधिस रमेशप्रसाद ज्ञवालीको एकल इजलासले मंगलवार होस्टेल वार्डेन शर्मा र सहायक प्रधानाध्यापक अधिकारीलाई पाँच/पाँच लाख र प्रधानाध्यापक देवकोटालाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको अदालतका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए । तीनै जना शिक्षकहरु धरौटी बुझाएर मंगलवार नै रिहा भएका छन् ।

इजलासले जाहेरवाला र प्रतिवादीको साक्षा बुझ्ने आदेश पनि दिएको उनले बताए । जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु जगन्नाथ भण्डारी, रामचन्द्र देवकोटा, पवित्रा सुवेदी र सरिता तिवारीले बहस गरेका थिए । प्रतिवादीको तर्फबाट पाँच जनाले बहस गरे । गत फागुन १२ गते शालीन होस्टेलका पंखामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

शालीनका बुबा दीपेन्द्र पोखरेलले भने हत्या अभियोगमा जाहेरी दिएका थिए । प्रमाण नपुगेपछि सरकारी वकिलको कार्यालयले आत्महत्या दुरुत्साहनमा मुद्धा दर्ता गरेको थियो ।



सम्बन्धित
Loading...