विश्वकपमा छनोटमा नेपालले आज बहराइनसँग खेल्दै
फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले आज बहराइनसँग खेल्दैछ ।
समूह एच अन्तर्गतको यस खेल बहराइनको स्थानीय समय अनुसार राति १० बजे (नेपाली समय मध्यरात १२:४५) बजे सुरु हुनेछ । खेल बहराइनको रिफास्थित राष्ट्रिय रंगशालमा हुनेछ ।
आज हुने खेल खेल नेपालको होम म्याच रुपमा हुनेछ । किनभने होम एण्ड अवेका आधारमा हुने छनोटअन्तर्गत नेपालले बिहीबारको खेल घरेलु मैदान दशरथ रंगशालमा खेल्नुपर्ने थियो । तर, दशरथ रंगशालको मैदानको अवस्था छनोटको खेल खेलाउने स्तरको नभएकोले नेपालले होम म्याच पनि बहराइनमै खेल्न लागेको हो ।
नेपालले बहराइनसँगको अवे म्याच अर्को साता बहराइनमै खेल्नेछ ।
समूह एचमा नेपालले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको थियो र अंकविहीन छ । पहिलो खेल युएईसँग अवे मैदानमा ४-० ले पराजित भएको नेपाल घरेलु मैदानमा भएको दोस्रो खेलमा यमनसँग पनि २-० ले पराजित भएको थियो ।
बहराइनले भने एक जित र एक हारको नतिजा निकालेको छ । पहिलो खेलमा यमनलाई २-० ले हराएको बहराइन दोस्रो खेलमा यसएईसँग २-० ले पराजित भएको थियो । समूह एचमा बहराइन २ खेलबाट ३ अंकसहित दोस्रो स्थानमा छ ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले छोटो समयमको तयारी भएको भन्दै राम्रो प्रदर्शन गर्ने प्रयास रहने बताए । ‘हामी नतिजा भन्दा पनि राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछौँ । टिममा धेरै नयाँ खेलाडीहरु छन् । नयाँ खेलाडीले डेब्यु गर्ने सम्भावना छ,’ उनले भने ।
यस्तै नेपाली टिममा १६ खेलाडी २२-२३ वर्षका भएको भन्दै उनीहरुको लागि यो एक्सपोजर लिने राम्रो अवसर भएको बताए ।
बहराइन आउनुअघि मलेसियासँग अभ्यास खेल खेलेको र उक्त खेलबाट धेरै कुरा सिक्ने अवसर पाएको बताए ।
नेपाली टिममा कप्तान किरण कुमार लिम्बुसहित अन्जन विष्ट अनन्त तामाङ भरत खवास सबैभन्दा अनुभवी खेलाडी छन् ।