कोदालो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
बैतडीको डिलासैनीमा एक पुरुषले कोदालोको बिँड प्रहार गरेर श्रीमतीको हत्या गरेका छन्। डिलासैनी गाउँपालिका– ७ धामीगाउँका ६५ वर्षीय कृष्ण धामीले कोदालोको बिँड प्रहार गरेर श्रीमती पार्वती धामीको हत्या गरेका हुन्।
श्रीमतीको टाउको र अनुहारमा प्रहार गरेपछि उनले छेउकै कोठामा डेरा गरेर बसेका पालिकाका कर्मचारी सुवास कलौनी र पालिकाकै कार्यालय सहयोगी देवराज भट्टमाथि पनि आक्रमण गरेर घाइते बनाएको प्रहरीले जनाएको छ।
घाइतेहरूको टाउको र अनुहारमा चोट लागेको छ भने उपचारका लागि हेलिकाेप्टरबाट कोहलपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए। घटनामा संलग्न धामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनको भनाइ छ।
पुरानो रिसिइबीले झापामा महिलाको हत्या
झापा । झापामा महिलाको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुर नगरपालिका-२ बस्ने ३५ वर्षीय सनम भन्ने गंगा राईको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय कमान सिंह राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
कमानको घरमा बुधबार राति गई सुतेका गंगालाई पुरानो रिसिइबिको कारण कमानले सुतिरहेको अवस्थामा फलामको खन्ती प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । सो खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पृथ्वीनगर र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।