दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ




भारतको नयाँ दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप)का अध्यक्ष अरविन्द केजरीवाल पक्राउ परेका छन्।

प्रवर्तन निर्देशनालय (इन्फोर्समेन्ट डाइरेक्टोरेट- ईडी) ले दिल्लीको नयाँ मदिरा बेचबिखनसम्बन्धी नीति जारी गर्दा निजी व्यापारीहरुसँग मिलेर आर्थिक लाभ लिएको आरोपमा अनुसन्धानका लागि मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेको हो ।




भारतीय समाचार संस्थाहरुले जनाएअनुसार ईडीको टोली आज साँझ करिब सात बजे केजरीवालको घर पुगेको थियो । झन्डै दुई घण्टाको सोधपुछपछि उनलाई पक्राउ गरिएको हो ।

आज मात्र उच्च अदालतले दिल्लीका मुख्यमन्त्रीको गिरफ्तारीमा रोक लगाउने निवेदन खारेज गरेको थियो । उनले अदालतबाट इडीमा सोधपुछका लागि गएमा आफूलाई गिरफ्तार नगर्ने आश्वासन मागेका थिए ।

सन् २०२१ मा आर्थिक लाभ लिएर मदिरा बिक्रीको सम्पूर्ण अधिकार निजी क्षेत्रलाई दिने गरी नयाँ मदिरा नीति ल्याएको आरोप केजरीवाल नेतृत्वको सरकारमाथि लागेको थियो ।

सन् २०२१ को नोभेम्बर १७ मा केजरीवाल नेतृत्वको दिल्ली सरकारले नयाँ मदिरा नीति लागू गरेको थियो । नयाँ नीतिमार्फत् दिल्ली सरकारले मदिराको बिक्री वितरणको सम्पूर्ण अधिकार निजी क्षेत्रलाई दिएको थियो ।

त्यसअघि नयाँ दिल्लीमा ६० प्रतिशत सरकारी र ४० प्रतिशत निजी पसलबाट मदिरा बिक्री हुने गरेको थियो । मदिरा बिक्रीबाट सरकारलाई अलग गर्दा केजरीवालले सरकारलाई प्रत्येक वर्ष ३५ सय करोड लाभ प्राप्त हुने दावी गरेका थिए ।

मदिरा नीति लागू भएसँगै प्रदेशका मुख्यसचिवले निजी क्षेत्रका व्यापारीलाई लाभ दिने गरी काम भएको भन्दै प्रतिवेदन तयार गरी अनुसन्धानका लागि अधिकार सम्पन्न निकायलाई आग्रह गरेका थिए । त्यसयता नै यसमाथि अनुसन्धान चलिरहेको थियो ।

यसअघि नै यही आरोपमा दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदिया पक्राउ परिसकेका छन् । सिसोदियालाई सिबीआइले सन् २०२३ को फेब्रुअरी २६ मा गिरफ्तार गरेको थियो । आम आदमी पार्टीका संचार प्रमुख विजय नायर, आपका नेता संजय सिंह पनि यही केसमा थुनामा पुगेका छन् । उनीहरुलाई तिहाड जेलमा राखिएको छ ।

निजी क्षेत्रका व्यापारीसँग मिलेर आर्थिक लाभ लिएको आरोप केजरीवालमाथि पनि लाग्दै आएको थियो । तर, उनले अस्वीकार गर्दै आएका थिए । उनकै सरकारका उपमुख्यमन्त्री नै यसमा संलग्न रहेको आरोपमा एक वर्षअघि पक्राउ परेपछि उनीमाथि दबाब झन् बढेको थियो ।

यस विषयमा इडी कार्यालयले केजरीवाललाई नौपटकसम्म बयानका लागि बोलाएको थियो । तर, उनी गएका थिएनन् ।



सम्बन्धित
Loading...