सिकारीको पासोमा चितुवा
कञ्चनपुरको चुरे वन क्षेत्रमा सिकारीको पासोमा एक चितुवा परेको छ । कृष्णपुर नगरपालिका- १ मोतीपुरमा सिकारीको पासोमा एक चितुवा परेको हो । दीपेन्द्र स्मृति सामुदायिक वन क्षेत्रमा सिकारीले थापेको पासोमा चितुवा परेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ ।
डिभिवन वन कार्यालय कञ्चनपुरका प्रमुख भीमप्रसाद कँडेलले सिकारजन्य गतिविधिमा संलग्न गिरोहले वन्यजन्तु मार्नका लागि बिच्छ्याएको जालोमा चितुवा परेको बताए । ‘चितुवा परेको खबर हामीलाई हिजै राति आएको थियो,’ उनले भने, ‘उद्धारका लागि राति सम्भव भएन, प्राविधिक टोली लगेर उद्धार गर्छौँ ।’
अहिलेसम्म चितुवाको स्वास्थ्य अवस्था ठीकै रहेको र खुट्टामा सामान्य चोट लागेको बताउँदै उनले भने, ‘सुरुमा हामी उद्धार गर्दै उपचार गर्छौँ, त्यसपछि निकुञ्ज वा कहाँ कुन वनमा लगेर छाड्ने विषयमा अवस्थाअनुसार अघि बढ्छौँ ।’
यसैबीच उक्त चितुवा फेला परेको केही किलोमिटर पश्चिमतर्फ सिर्सैया गाउँमा रहेको एक स-मिलबाट अवैध काठसहित सञ्चालकलाई समेत वनको टोलीले पक्राउ गरेको छ ।
डिभिजन वन कार्यालय कञ्चनपुरका सहायक वन अधिकृत अमर धामीले शुक्लाफाँटा नगरपालिका- ९ सिर्सैयास्थित महरा काष्ठ उद्योग तथा स-मिलबाट तीन सय क्युफिट काठसहित सञ्चालक शंकर महरालाई पक्राउ गरिएको छ ।