पूर्वी नवलपरासीमा २ सय ८४ जना क्षयरोगी फेला




पूर्वी नवलपरासी — पूर्वी नवलपरासीमा गत सात महिनाको अवधिमा २ सय ८४ जना क्षयरोगी थपिएका छन् । तीमध्ये १ सय ९७ जना पुरुष र ८७ जना महिला रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत डिल्ली तिवारीका अनुसार जिल्लाका आठ वटा पालिकामा सबैभन्दा धेरै कावासोती नगरपालिकामा ६४ जना भेटिएका छन् । त्यसैगरी गैंडाकोटमा ६२ जना, देवचुलीमा ५१ जना, मध्यविन्दुमा ३९ जना र विनयी त्रिवेणी गाउँपालिकामा २९ जना भेटिएका हुन् ।




यसैगरी हुप्सेकोटमा २८ जना, बुलिङटार गाउँपालिकामा ७ जना र सबैभन्दा कम बौदीकाली गाउँपालिकामा ४ जना क्षयरोगी रहेको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ । गत वर्ष यो संख्या ५ सय ४६ थियो । त्यस अघिको वर्ष ५ सय २९ रहेको थियो । आउँदो असारसम्ममा यो संख्या गत वर्षकै हाराहारीमा पुग्ने अनुमान गरिएको छ ।

तिवारीका अनुसार बुलिङटार र विनयी त्रिवेणीमा शतप्रतिशत उपचार सफल भएको छ । यहाँको जिल्ला अस्पताल र अन्य सरकारी अस्पतालमा क्षयरोगको नि:शुल्क उपचार हुँदै आएको छ ।



सम्बन्धित
Loading...