कावासोतीमा खानेपानी टंकीमा भएको खागको टोकाइबाट ८ जना बालबालिका सहित ९ जना घाइते



कावासोती । पूर्वी नवलपरासीको कावासोती १६ डण्डामा रहेको अग्यौली खानेपानीको खानेपानी टंकीमा रहेको खाग (जंगली माहुरी) को टोकाइबाट ८ जना विद्यार्थी सहित ९ जना घाइते भएका छन् ।

कावासोती १६ मा रहेको जनता मावि सहिदनगर डण्डाका ८ जना विद्यार्थी र विद्यालयका प्रधानाध्यापक सहित ९ जना खागको टोकाइबाट घाइते भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् कावासोती १६ का वडाध्यक्ष आनन्द श्रेष्ठले बताए ।




उनका अनुसार कक्षा १ देखि ४ सम्मका ९ बर्षदेखि १६ बर्षसम्मका ८ जना बालबालिकालाई खागले टोकेको हो । खागलाई बाज (चरा) ले जिस्काएपछि खानेपानी टंकी नजिकै रहेको विद्यालयका विद्यार्थीहरुलाई खागले टोकेको वडाध्यक्ष श्रेष्ठले बताए ।

उक्त खाग नधपाएसम्म विद्यार्थीहरु सधैं त्रासमा पढ्नु परेको उनले बताए । विद्यार्थीहरु विहानको समय परीक्षा दिन आएको बेला खागले टोकेको थियो ।

घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार पछि सबै घर फर्किएको र बालबालिकाको अवस्था अहिले सामान्य रहेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

वडाध्यक्ष श्रेष्ठले खानेपानी टंकीमा रहेको खाग हटाउनका लागि पहल गरिदिन सम्बन्धित निकायलाई अनुरोध पनि गरेका छन् ।



सम्बन्धित
Loading...