लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा, माओवादीका महरा मुख्यमन्त्री बन्दै


लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा




लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन्। बिहीबार संसदमा सम्बोधन गर्दै चौधरीले राजीनामा दिने घोषणा गरेका हुन्।


उनले प्रदेश सभालाई सम्बोधन गर्दै प्रशासनलाई चुस्त, दुरुस्त बनाउन नसकेको स्विकारे। ‘हामीले प्रशासनलाई चुस्त, दुरुस्त राख्न सकेनौँ,’ उनले भने, ‘सत्ताको चाकडी गर्ने प्रवृत्तिले प्रशासन अघि बढ्न सक्दैन।’

कर्मचारी प्रशासनकै कारण विकासे बजेट खर्च न्यून हुने गरेको उनको भनाइ छ। साथै, उनले सत्ता भनेको अस्थायी हुने भन्दै संघीयता जोगाउनका लागि सबै एकमतका साथ अघि बढ्नुपर्ने बताए।

केन्द्रको सत्तासमीकरण फेरिएसँगै लुम्बिनीमा पनि सत्तासमीकरण फेरिएको छ। लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन सत्तासाझेदार दल सहमत भएका छन्।

लुम्बिनीमा माओवादीका महरालाई मुख्यमन्त्री बनाउने सहमति

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन सत्तापक्ष दल सहमत भएका छन्।

एमाले, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सांसद खड्कबहादुर बस्नेतले पाँचबुँदे सहमति गर्दै महरालाई मुख्यमन्त्री बनाउन सहमत भएका हुन्।

लुम्बिनीमा माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने केन्द्रको सहमतिअनुसार प्रदेश सरकार निर्माणका लागि कसरत भइरहेको छ।

८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ सांसद चाहिन्छ। लुम्बिनीमा एमालेका २९, माओवादी केन्द्रका १० (सभामुखबाहेक), जनता समाजवादी पार्टीका तीन, एकीकृत समाजवादीका एकजना र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्।

माओवादी केन्द्रका संसदीय दलका नेता महरा, एमाले संसदीय दलका नेता लीला गिरी, जसपा दलका नेता भण्डारीलाल अहिर, एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद बस्नेतले हस्ताक्षर गरी पाँचबुँदे समझदारीसमेत बनेको हो।



सम्बन्धित
Loading...