एमालेका खगराजको गण्डकी मुख्यमन्त्रीमा दाबी, असंवैधानिक तरिकाबाट मुख्यमन्त्री नियुक्त नगर्न काँग्रेसको माग
पोखरा, चैत २५ । गण्डकी प्रदेशमा एमालेका नेता खगराज अधिकारीले मुख्यमन्त्रीको दाबी परेका गरेका छन् ।
अधिकारीले एमाले, माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री दावी गरेका हुन् । यसमा सभामुखको समेत संख्या गनिएको छ ।
कोशीमा सभामुख सहित संख्या गनेर दावी गर्दा पछि अदालतले उक्त सरकार उल्ट्याइदिएको थियो । त्यही घटना गण्डकीमा पनि दोहोरिने देखिएको छ ।
एमालेका २२, माओवादीका सभामुख सहित ८ र मनाङे गरी ३१ सीट पुग्छ । दलको सीट संख्याका आधारमा बहुमत पुर्याएर दावी पेस गरिएको अधिकारीले बताए ।
गण्डकी प्रदेश प्रमुखलाई कांग्रेसको पत्र- असंवैधानिक तरिकाबाट मुख्यमन्त्री नियुक्त नगरियोस्
नेपाली कांग्रेसले असंवैधानिक तरिकाबाट गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्त नगर्न प्रदेश प्रमुखलाई पत्र पठाएको छ।
कांग्रेस संसदीय दल नेता सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आइतबार पत्र पठाउँदै असंवैधानिक तरिकाबाट नेकपा (एमाले) संसदीय दल नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त नगर्न भनेका हुन्।
आइतबार नै एमाले र माओवादीसहितले नयाँ मुख्यमन्त्रीमा अधिकारीको दाबी पेस गरेका थिए। उक्त दाबीमा सांसदका पुरानो हस्ताक्षर प्रयोग गरिएको र सभामुखसमेतलाई गणना गरिएकोले यो असंवैधानिक भएको कांग्रेसको दाबी छ।
कांग्रेसले प्रदेश प्रमुख भट्टलाई पुन: सांसदहरूको हस्ताक्षर लिन पनि आग्रह गरेको छ।
‘म आफूलाई जानकारी हुन आएअनुसार प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षर भनिएको उक्त दाबी पत्रमा दलको नेताले हस्ताक्षर गरेको भन्ने बुझिएको छ। प्रदेश सभाका प्रत्येक सदस्यहरुको फरक प्रयोजनका लागि लिइएको पुरानो हस्ताक्षर दुरुपयोग गरिएको भनी स्वयम: केही प्रदेश सभा सदस्यहरुले भनेको अवस्था छ। समर्थन गरिएको भनिएको हस्ताक्षरको आधिकारिक खनाखत बेगर मुख्यमन्त्रीको नियुक्ति आधिकारीक मान्न सकिँदैन र म निवेदक सनाखतपछि मात्रै कामकारबाही अघि बढाइयोस् भन्ने माग गर्दछु,’ उनले भनेका छन्।
साथै उनले सभामुख स्वतन्त्र, तटस्थ र निष्पक्ष पद रहेकोले नै सभामुखमा नियुक्त हुनुपूर्व नै सभामुख कृष्णप्रसाद धितालले माओवादीको साधारण सदस्यता पनि त्याग गरेको विषय उल्लेख गरेका छन्।