राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेद्वारा पदभार ग्रहण
काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले पदभार ग्रहण गरेकी छन् । सिंहदरबारस्थित सभाकक्षमा बुधबार उनले पदभार ग्रहणपछि राष्ट्रिय सभाको उपाध्यक्षको पदको गरिमालाई सोहीअनुसार उचाइमा राखेर काम गर्ने प्रतिबद्धता जनाइन् ।
उनले भनिन्, ‘राष्ट्रिय सभाको उपाध्यक्ष पदको गरिमालाई सोहीअनुसार उचाइमा राख्ने र समग्र राष्ट्रिय सभालाई नै त्यसको महत्त्व झल्काउने गरी अध्यक्षज्यूसँग सहकार्य गर्ने र सबै माननीयज्यूहरुसँग सहकार्य गरेर नै अगाडि बढ्ने प्रतिबद्धता जनाउँछु ।’
संविधानले व्यवस्था गरेको नियमावलीले दिएको मार्ग निर्देशनको परिधिभित्र रहेर सृजनात्मक ढङ्गले आफ्नो पद सम्हाल्ने विश्वास उनले दिलाइन । बुधबारै भएको निर्वाचनमा उनी कांग्रेस उम्मेदवारलाई पराजित गर्दै उपाध्यक्ष निर्वाचित भएकी हुन् ।
राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित
राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् ।
बुधबार राष्ट्रियसभा बैठकमा उपाध्यक्षको निर्वाचनमा भएको मत विभाजनमा घिमिरे नेपाली कांग्रेसका उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।
५९ सदस्यीय राष्ट्रियसभामा ३९ मतसहित घिमिरे उपाध्यक्षमा निर्वाचित भएकी हुन् । उनलाई नेकपा एमाले, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका सांसदले मत दिएका छन् । उपाध्यक्षकी अर्की प्रतिस्पर्धी कांग्रेसकी पुडासैनीले १६ मतमात्र पाइन् । मतदानमा ५५ सदस्य सहभागी भएका थिए ।
मतदानअघि बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त पदमा नेपाली कांग्रेसका पुडासैनी र नेकपा (एमाले) का घिमिरेलाई निर्वाचित गरियोस् भन्ने दुई प्रस्तावबारे जानकारी गराएका थिए । बैठकमा दुवै प्रस्तावका प्रस्तावक र समर्थकले मन्तव्य राखेपछि मत विभाजनमार्फत निर्वाचन भएको थियो ।