नवलपुरमा आगलागीबाट घरगोठ जल्यो, डडेल्धुरामा आगोमा परेर एकजनाको मृत्यु
नवलपुरमा आगलागीबाट घरगोठ जल्यो

नवलपुर । नवलपुर जिल्लाको गैँडाकोट नगरपालिका वडा नम्बर ३ ढोडेनी वडा कार्यालय नजिक गएराती एक घरमा आगलागी भएको छ ।
आगलागीबाट स्थानीय तुलबहादुर डिस्वाको घर र गोठ जलेर नष्ट भएको हो । गएराति करिब सवा २ बजेको समयमा आगो लागेको थियो । उक्त आगो, स्थानीय, प्रहरी, जेसिबी र भरतपुर महानगरपालिकाबाट आएका दुई वटा दमकलको सहायतमा बिहान करिब साढे ५ बजेतिर मात्रै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।
चितवनका दुर्ई वटा दमकल, अस्थायी प्रहरी पोष्ट ढोडेनी र स्थानीय सबैको सहयोगले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। सँगै जोडिएर रहेका अन्य घरहरुबाट स्थानीयले सामान घर बाहिर निकालेका थिए । कालिगण्डकी करिडोर निर्माण भएसँगै सडक सहजताले पनि समयमा नै दमकल पुगेको थियो ।
आगलागीबाट सुनारीको काठको दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री, केही नगद, गोठमा रहेका कुखुरा, हाँस, र खरायो समेत जलेको प्रारम्भिक विवरण आएको छ । घरमा रहेका बाख्राको अवस्थाबारे जानकारी आइसकेको छैन ।
क्षतिको विवरण संकलन भइरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
डडेल्धुरामा आगोमा परेर एकजनाको मृत्यु
डडेल्धुरामा आगोमा परेर एकजनाको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
खरबारीमा लगाएको आगोमा लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको हो।
आफ्नै खेतबारीको घेरबार हाल्नको लागि झिग्रा काट्ने क्रममा उनी शुक्रबार खरबारीको आगोमा परेका थिए।