नवलपरासीमा सात लाख बराबरको अवैध सामानसहित अटो चालक पक्राउ
नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुतापूर्व) तथा मातहतका प्रहरी इकाइहरुबाट खटिएको प्रहरी टोलीले भन्सार छली ल्याइएको ६ लाख ८८ हजार ९४० रुपैयाँबराबरको अवैध सामानसहित अटो चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरी टोलीले आइतबार सरावल गाउँपालिका वडा नं–७, मधवलिया (दशगजा क्षेत्र)बाट दुई अटोमा भारततर्फ लैजाँदै गरेको १८ वटा बाख्रा बरामद गरेको हो । दशगजा क्षेत्रबाट ५ लाख ६५ हजार ५०० रुपैयाँबराबरको पशुचौपाया तथा अटो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस्तै, जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरी टोलीले आइतबार पाल्हीनन्दन गाउँपालिका वडा नं–३, बेलासपुरबाट एक लाख २३ हजार ४४० रुपैयाँबराबरका विभिन्न थान तथा रेडिमेड कपडाहरु बरामद गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए ।
बरामद सामान तथा पशु चौपायाहरु नियन्त्रणमा लिई अटो चालकसमेतलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको प्रनाउ बोहराले जानकारी दिए ।