कावासोतीको छिपछिपे सहकारी ठगीमा राप्रपाका सांसद सहित १४ जना विरुद्ध पक्राउ पूर्जी जारी
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभाेक्ता सहकारी संस्थाको ठगी काण्डमा राप्रपका सांसद गीता बस्नेतको नाम मुछिएको छ ।
उनी बर्दियाका हुन् । उनले कावासोतीको छिपछिपे सहकारीबाट करिब १ करोड, चितवनको सनराइज सहकारीबाट साढे २ करोड र बर्दियाको एक सहकारी सहित गरी साढे ५ करोड बढी ढगी गरेको पाइएको स्रोतले जनाएको छ ।
उनी राजेन्द्र लिङ्देन अध्यक्ष रहेको पार्टी राप्रपाकी समानुपातिक सांसद हुन् ।
बस्नेतसहित उनको समूहले रकम अपचलन गरेको जाहेरी परेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । सोही आधारमा बस्नेतको संलग्नता खुलेपछि प्रहरीले पक्राउ गर्नका लागि अदालतसँग अनुमति माग गरेको अनुसार आज पक्राउ पूर्जी जारी भएको बार एशोसियसन नवलपुरका अध्यक्ष चेतप्रसाद डुम्रेले बताए । सांसद गीता बस्नेतले गैरकानुनी रुपमा कृष्णसार नामक रिसोर्टमा लगानी गरेको खुलेको छ ।
डुम्रेका अनुसार उनी सहित सहकारीको वर्तमान अध्यक्ष गोपी शर्मा लगायत १४ जना विरुद्ध संगठित अपराध अन्तरगत पक्राउ पूर्जी जारी भएको छ । जिल्ला पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका एक अधिकृतले पुष्टि गरे ।
अध्यक्ष गाेपी शर्मा नेकपा एमाले निकट युवा संघ नवलपरासीका पूर्वअध्यक्ष हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीले प्रहरीले पक्राउ पूर्जीका लागि प्रक्रियामा रहेको स्वीकार गरे तर उनले पक्राउ पूर्जी आइनपुगेको बताए । उनले भने – हामी प्रोसेसमा छौं । थप केही भए सार्वजनिक गर्ने छौं ।
कावासोतीको छिपछिपे सहकारीमा १० करोड बढी आर्थिक अनियमितता गरेको आरोपमा नवलपुर प्रहरीले यस अघि प्रबन्ध निर्देशक रहेका योगेन्द्र पाण्डे सहित ७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनीहरुको पनि आज थप अनुसन्धानका लागि म्याद थप भएको एक जना अधिवक्ताले बताए ।