शिक्षामा राजनीतिक हस्तक्षेप बढेको भन्दै हुप्सेकोटमा बुझाए ४ दलले ८ बुदे माग
रामकुमार श्रेष्ठ —
नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकाका विद्यालयहरुमा पालिकाले राजनीतिक पूर्वग्राही राखेर विद्यालयमा अनावश्यक हस्तक्षेप गरेको भन्दै यहाँका ४ राजनीतिक दलले पालिकामा आज ज्ञापन पत्र बुझाएको छ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र राप्रपाले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् ।
उनीहरुले हुप्सेकोट गाउँपालिका भित्र काजमा रहेका शिक्षकहरु तुरुन्त फिर्ता गर्नु पर्ने, संघीय शिक्षा ऐनसँग बाझिने गरी गरिएका शिक्षक नियुक्ति तुरुन्त रद्द गरिनु पर्ने, प्रधानाध्यापक व्यवस्थापनको नाममा कार्यरत प्रधानाध्यापकलाई वर्खास्त गरी नयाँ प्रधानाध्यापक नियुक्ति बदर गर्नु पर्ने माग राखेका छन् ।
त्यसैगरी शिक्षक, कर्मचारीको नाममा कार्यकर्ता भर्ति केन्द्र बन्द गर्नु पर्ने, विद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गरिनु पर्ने, राजनीतिक आस्थाकै आधारमा शिक्षक र कर्मचारीलाई अनावश्यक मानसिक यातना दिने काम बन्द गर्न उनीहरुले माग गरेको छ ।
तत्काल आफ्ना माग सम्बोधन नभए आन्दोलनमा जाने उनीहरुले चेतावनी पनि दिएका छन् ।