भारी वर्षाका कारण बुटवलका विभिन्न क्षेत्र डुबानमा, विद्यालयले दिए बिदा, सिद्धबाबामा सडक अवरुद्ध





बुटवल । शनिबार रातिदेखि परेको वर्षाका कारण बुटवलका विभिन्न क्षेत्र डुबानमा परेका छन् । बुटवलको अमर पथ,हाट बजार लाइनसहितका क्षेत्र डुबानमा परेको हो । बुटवलका अधिकांश नालीहरू फोहोरले पुरिएकोले ठुलो पानी पर्दा डुबानमा परेका इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

अहिले पानी घटे पनि हिलो र लेदो सडकमा थुप्रिएको छ । रुपन्देही उद्योग सङ्घको कार्यालय र पश्चिम नेपाल बस समितिको कार्यालय भित्र पानी पसेको प्रहरीले जनाएको छ । डुबानका कारण सडक अस्तव्यस्त भएपछि यहाँस्थित न्यू होराइजन स्कुलले आज बिदा दिएको छ । सोह्र छत्तिस कुलोको छेलमा रहेको सो स्कुलमा रहेका तल्लो तलाका सबै कक्षाकोठाहरू समेत डुबेको प्रहरीले जनाएको छ।


यसैबिच वर्षापछि पहिरो खसेर अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अन्तर्गतका पाल्पा–बुटवल सडक खण्ड पाँच घण्टापछि पुनः सञ्चालनमा आएको छ ।

राजमार्गको तिनाउ गाउँपालिका–३, दोभानको पैठेडाँडादेखि सिद्धबाबा मन्दिरसम्म चार स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । दोभान प्रहरी चौकी पाल्पाका अनुसार पहिरो खसेर अवरुद्ध बनेको राजमार्गमा पहिरो पन्छाएपछि अहिले अहिले सवारी साधन चल्न सुरु गरेका छन् । निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध भएको थियौ ।

बाढी पसेपछि विद्यालयले आज एक दिनका लागि पठन पाठन बन्द गरेको छ । फोहोरको लेदोले बजार क्षेत्र दुर्गन्धित भएको छ ।

रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले कार्यालयको तल्लो तलामा पूरै लेदोले भरिएर पस्न नमिल्ने भएकाले कार्यालय माथिल्लो तलामा सार्न थालिएको बताए ।

बुटवल उपमहानगरपालिकाका इन्जिनियर गौतम रौनियारले सोह्र–छत्तीस कुलोमा रहेको गेट बन्द भएकाले पानी बग्न नपाई डुबानको समस्या आएको बताए ।

कालिकानगरस्थित शुभ नारायणी फर्निचर उद्योगमा बाढी पस्दा करिब ५ लाखको प्लाइउड नोक्सान भएको उद्योगी अशोक कुँवरले बताए । कुलोको पानी सबै फर्केर घर र पसलमा पुगेको उनको भनाइ छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले नाली र कुलो थुनिँदा डुबानको समस्या आएको बताए । विभिन्न ठाउँमा बाढी पसेर धनमालको क्षति भएपनि मानवीय क्षति नभएकाले उनले बताए ।



सम्बन्धित
Loading...