नारायणी नदीको पुलबाट फाल हाली युवती घाइते
नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका २ मा नारायणी नदीको पुलबाट फालहाली एक जना युवती घाइते भएकी छिन् ।
गएराति सुनसरी जिल्लाको धरान उपमहानगरपालिका माइत र पाल्पा घर भई हाल गैडाकोट २ को तनहुँ रिसिङ होटलमा काम गर्ने १७ बर्षीय युवती खुसी राजधानी पुलबाट नदीमा फाल हाली घाइते भएकी हुन् ।
नदी किनारमा गैडाकोट ६ राधाकृष्ण मन्दिर नजिकै घाइते अवस्थामा रोइराखेको देखेपछि प्रहरीले उद्दार गरी उपचारको लागि नयाँ मेडिकल कलेज चितवन पठाएको थियो ।
युवतीको खुट्टामा चोट लागेको छ । प्रहरीले आफन्तलाई खबर गरेको र घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।
युवतीको आमा विदेशमा, बाबा विरामी रहेको र श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेको खुलेको प्रहरीले जनाएको छ । उनको ४ महिना अघि मात्र विवाह भएको पनि खुल्न आएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी ४ दिन अघि मात्र उक्त होटलमा काम गर्न बसेकी थिइन् ।