हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु

काठमाडौँ — हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । आइतबार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् ।
दुर्घटनामा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मालेक रहमातीको पनि मृत्यु भएको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार हेलिकप्टरमा सवार ९ जनाकै मृत्यु भएको छ । दुर्घटनामा राष्ट्रपति सवार बेल-२१२ हेलिकप्टरको पछाडिको केही भागबाहेक सबै जलेको छ ।’
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले समेत सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै इरानी राष्ट्रपति र विदेशमन्त्रीसँगै सबै यात्रुको मृत्यु भएको जनाएको छ । नाम उल्लेख नगरी इरानी उच्च अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ, ‘राष्ट्रपति रइसी, विदेशमन्त्री र सबै यात्रुको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ ।’
यसअघि इरानी रेडक्रस सोसाइटीका अध्यक्ष पिर हुसेन कोलिवान्दले समेत हेलिकप्टर दुर्घटनास्थलमा कोही पनि जीवित रहेको संकेत देखा नपरेको बताएका थिए । इरानी अर्धसकारी समाचार संस्था मेहर न्युज एजेन्सीले पनि राष्ट्रपति रइसी र विदेशमन्त्रीसँगै अन्य अधिकारी दुर्घटनामा सहिद भएको जनाएको छ ।
इरानी सञ्चारमाध्यमहरूका अनुसार आइतबार अजरबैजानसँगको सीमा क्षेत्रमा बाँधको उद्घाटनपछि फर्किँदै गर्दा राष्ट्रपति रइसी सवार हेलिकप्टर दुर्घटनामा परेको हो । स्थानीय सञ्चारमाध्यमहरूले राष्ट्रपति रइसी सवार हेलिकप्टरले फोर्सल्यान्डिङ गरेको समेत जनाएका छन् । तर यसको स्वतन्त्र पुष्टि भने भएको छैन ।